Tuesday, October 02, 2018

दसैंको मुखैमा स्थानीयको घरमा चल्यो डोजर

दसैंको मुखैमा स्थानीयको घरमा चल्यो डोजर


Sanga ghar
काभ्रे । सोमबार काभ्रेको साँगाको रुप बदलिएको छ । आइतबारसम्म सडक किनारमा देखिएका घर सोमबार देखिएनन् ।
साँगाबासीले ५० वर्षअघि नै मुआब्जा लिइसकेका थिए । तर, साँगा बजारमा सडक छेउका घर अझैं हटाइएको थिएन । तर, सोमबार ती घरहरु डोजर लगाएर भत्काएपछि २०२१ सालमा निर्माण भएको अरनिको राजमार्ग फराकिलो बनाउन सहज भएको छ ।
सडक किनारका घर भत्काएर सडक फराकिलो बनाउन त सजिलो भएको छ । तर, स्थानीयलाई भने दसैंको मुखैमा घर भत्काइँदा चिन्ताले पिरोलेको छ ।
स्थानीय वासिन्दाले हिन्दू नेपालीको ठूलो चाड दसैंको मुखमा खान न पिउनु बनाएको गुनासो गरेका छन् । उनीहरुले दसैं सकिएपछि घर भत्काएको भए कसैले प्रतिकार गर्ने अवस्था आउने थिएन भनेका छन् । स्थानीयले भने दसैंपछि स्वेच्छाले छाड्ने तयारी गर्दागर्दै दसैंको मुखैमा घर न घाटको बनाएको दुखेसो छ ।
सडक क्षेत्रको घर टहरा हटाउने क्रममा केहीमा प्रहरी र स्थानीयबीच झडपसमेत भएको छ । घरटहरा भत्काउन लागेपछि स्थानीयले राजमार्ग अवरोध गरेर विरोध जनाएका थिए ।
राजमार्ग खुलाउन खोज्दा साँगाका घर टहरा सञ्चालक स्थानीय र प्रहरीबीच झडप भएको थियो । झडप नियन्त्रण गर्न प्रहरीले लाठीचार्ज र दुई सेल अश्रुग्यास हानेको थियो ।
पछिल्लो पटक बनेपा नगरपालिका र डिभिजन सडक कार्यालय र प्रहरी प्रशासनको सक्रियतामा सडक क्षेत्रको अवैध टहरा हटाउने काम तीब्र रुपमा भइरहेको छ । स्थानीयको अवरोधका कारण भक्तपुर र काभ्रेको सिमाना साँगामा सडक फराकिलो पार्न अवरोध भए पनि अहिले हटाउन सफल भएको डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख गुरुप्रसाद अधिकारीले बताए ।

सार्प सुटरबाट फिल्मी शैलीमा हत्या

सार्प सुटरबाट फिल्मी शैलीमा हत्या


सुनसरीको हरिनगर–२, भुटाहास्थित रैयान नेसनल स्कुलका सञ्चालक तथा प्रिन्सिपल खुर्सिद आलमको हत्या दुईवटा मोटरसाइकलमा आएका सार्प सुटरले फिल्मी शैलीमा गोली प्रहार गरे । असोज ४ गते भएको उक्त घटनापछि सुटरहरू सीमापारि भारतर्फ फरार भएको प्रहरीले जनाएको छ । घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा खुर्सिद हत्यामा तालिमप्राप्त सार्प सुटर प्रयोग भएको पत्ता लागेको छ । चार जना सुटर भारतीय नम्बर प्लेटको एउटा कालो पल्सर र अर्को सेतो अपाचे मोटसाइकलमा आएका थिए । उनीहरू खुर्सिदको हत्यालगत्तै भारतर्फ फरार भएकाले प्रहरीले उनीहरूलाई पक्राउ गर्न सकेको छैन । 
खुर्सिद स्थानीय रैयान नेसनल बोर्डिङ स्कुलका सञ्चालक हुन् । घटना भएको दिन बिहान उनी स्कुलको बैठकमा सहभागी थिए । बैठक सकिएपछि खुर्सिद भुटाहा बजारमा चिया पिउन गए । चिया पिएपछि उनी घरतर्फ जान आफन्त पर्ने अमिन आलमको मोटसाइकल चढे र स्कुलभन्दा ५० मिटर दक्षिण मात्र के पुगेका थिए । पछाडिबाट दुईवटा मोटरसाइकलमा आएका सुटरले उनीमाथि गोली प्रहार गरेको प्रत्यक्षदर्शीहरू बताउँछन् । 
यतिसम्म कि बाइक चलाइरहेका अमिनले खुर्सिदलाई गोली हानिएको थाहा पाएनन् । ‘अमिनले सुरुमा मोटरसाइकलको टायर पड्किएको आशंका गरे । दोस्रो गोली बर्सिएर खुर्सिदको जीउबाट रगत बगेको देखेपछि मात्र गोली प्रहार भएको थाहा पाएको थिएँ,’ जलालले बताए । जलालका अनुसार खुर्सिदलाई तीन गोली लागेको थियो । आक्रमणकारीहरूले हेलमेट र मास्क दुवै लगाएको स्थानीय बासिन्दाहरू बताउँछन् । 
यसरी उम्किए सुटर 
खुर्सिदलाई गोली प्रहार गरेपछि बन्दुकधारीहरू भुटाहाबजारबाट करिब ८ किलोमिटर दक्षिणमा रहेको सिमातर्फ तीव्र गतिमा अघि बढे । दुईवटा मोटरसाइकलमा आएका बन्दुकधारीले खुर्सिदलाई बिहीबार ११ बजेर ३ मिनेटमा गोली प्रहार गरेका थिए । 
घटनापछि भुटाहाका स्थानीय बासिन्दा समसाद अन्सारीले घुस्कीबजारमा हार्डवेयर पसल गरी बस्ने आफन्त इसा अन्सारीलाई घटनाका सम्बन्धमा जानकारी गराउँदै दुबै मोटरसाइकल रोक्न आग्रह गरे । इसाले तत्काल प्रहरी चौकी घुस्कीहाटका असई शिवकुमार शर्मालाई घटनाको जानकारी गराएर पसलमा काम गर्नेलाई मोटरसाइकल रोक्न सडकमा उभ्याउन भ्याएको बताए ।
फोनमा कुरा गर्दा गर्दै बन्दुकधारी दुवै मोटरसाइकल घुस्की बजार आइपुगेको उनले बताए । घुस्की बजारमा मानिसहरूको चहलपहल देखेर सुटरहरूले मोटरसाइकलको गति कम गरे, इशाले भने— अगाडिको अपाचे मोटरसाइकलका चालकको कठालो समात्ने बित्तिकै पछाडि बसेका व्यक्तिले मेरो हातमा हानेर छुटाइदियो र मोटरसाइकलको गति बढाएर उनीहरू उम्की हाले । इशाका अनुसार त्यतिबेलासम्म सय मिटरको दूरीमा रहेको प्रहरी चौकीका सेन्ट्रीमा रहेका जवान शिवलाल पौडेल राइफल लिएर सडकमा आइसकेका थिए । अपाचेको पछाडि रहेको पल्सर मोटरसाइकलमा पछाडि बसेको व्यक्तिले तत्काल प्रहरी जवान पौडेलमाथि तीन फायर गर्‍यो । एउटा गोली तिघ्रामा लागेपछि प्रहरी जवान पौडेल घाइते भएर लडे । त्यतिकैमा असई शर्मा आइपुग्दा हतियारधारी घुस्सी बजारबाट बेपत्ता भैसकेका थिए भने शर्मा घाइते भएका पौडेलको प्राथमिक उपचार गराउन तिर लागे । घाइते पौडेलको हाल धरानस्थित विपी प्रतिष्ठानमा उपचार भैरहेको छ । 
सुटरलाई तीन
किलोमिटर लखेटियो
भुटाहा बजारमा घटना घटाए पछि हरिनगर गाउँपालिका– ६ स्थितघुस्कीका मुस्तफा अन्सारीले जानकारी पाए । घटना थाहा पाउनेबित्तिकै बुलेट मोटरसाइकलमा सुटरहरूको पिछा गरेको उनले बताए । भारतीय सीमानातर्फ भागेका सुटरहरूलाई स्थानीयवासीले मोटरसाइकलबाट पछ्याउँदै भारतीय सीमानासम्म पुगेका थिए । मुस्तफाले सुटरहरूलाई दशगजसम्मै पछ्याएको अर्का स्थानीय बासिन्दाले बताए । घुस्कीस्थित सीमा सुरक्षाका लागि ५ सय मिटर उत्तर ड्युटीमा खटिएका तीन जना सशस्त्र प्रहरीको टोलीलाई बन्दुकधारीले गाली गर्दै बाटो छोड्न भनेको प्रत्यक्षदर्शीले बताए ।
मुस्तफाले आफूले सशस्त्र प्रहरीलाई बन्दुकधारीमाथि फायर गरेर भए पनि रोक्न आग्रह गर्दा फायर खोल्न आदेश नभएको उनीहरूले बताए । सीमावर्ती भारतीय बजार घुर्नामा भारतीय एसएसबी रहेकाले दशगजाबाट पूर्व करिब १ किलोमिटर गएर १ सय २१ नम्बरको जंगे पिल्लर नजिकबाट हत्याराहरू भारतको जटबरा गाउँ प्रवेश गरेको प्रत्यक्षदर्शीहरूले बताएका छन् । दशगजा कट्ने क्रममा बन्दुकधारीहरूको दुबै मोटरसाइकल लडेको मुस्तफाले बताए । 
प्रहरी चुक्दा सुटर उम्किए 
अन्सारीलाई गोली प्रहार गरी हत्या गर्ने पेसेवर सुटर प्रहरीहरूबीच आपसी समन्वय हुन नसक्दा भाग्न सफल भएको स्थानीय बासिन्दाहरू बताउँछन् । हत्या गरेको स्थानदेखि ५ सय मिटर उत्तर–दक्षिणमा रहेको भुटाहा प्रहरी चौकी, करिब ८ किलोमिटर दक्षिणमा रहेको प्रहरी चौकी घुस्कीहाट र सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट घुस्कीबीच समन्वयको अभावमा अपराधी सजिलै उम्कन सफल भएको उनीहरूको दाबी छ । 
गोली चलेको आवाज सुन्ने बित्तिकै स्थानीयबासीले असईको कमाण्डमा बस्ने भुटाहा प्रहरीलाई फोन गरे, तर समयमा फोन नउठेको स्थानीय बासिन्दाहरूको गुनासो छ । केही ढिलै भएपनि घुस्की प्रहरी चौकीको टोली त्यहाँ आइपुग्यो । घुस्कीका प्रहरी आइपुग्दा अपराधी खुला सिमातर्फ फरार भैसकेका थिए । तर, भुटाहा प्रहरीले तत्काल घुस्कीको प्रहरी र सिमा बोर्डर आउट पोस्ट तथा घुस्कीस्थित सशस्त्र प्रहरीलाई खबर नगर्दा अपराधी सजिलैसँग भारतर्फ भाग्न सफल भएको आरोप छ । ‘सुटरले गोली प्रहार गरि हत्या गरेको र हतियारधारीहरू दक्षितर्फको सिमानाकातर्फ फरार भएको जानकारी दिने बित्तिकै भुटाहा प्रहरीले करिब आठ किलोमिटरको दूरीमा रहेको घुस्की र सीमा सुरक्षाका सशस्त्र प्रहरीले खबर गर्नुपर्ने थियो,’ हनीनगर–२ का जलाल अन्सारीले भने, ‘गोली प्रहार गरी अपराधी भागेको खबर घुस्की र सिमा सुरक्षाको प्रहरीलाई स्थानियले खबर गरेका थिए । 
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट घुस्कीका सशस्त्र प्रहरी निरीक्षक दिलकुमार पन्तले समयमा घटनाको सूचना नआएकाले अपराधी भाग्न सफल भएको बताए । ‘घटना हुनेबितिक्कै भुटाहा प्रहरीबाट जानकारी पाएको भए अपराधीलाई सजिलै नियन्त्रणमा लिन सकिन्थ्यो,’ पन्तले बताए । प्रहरी चौकी घुस्कीका असई शिव शर्माले पनि घटनाका सम्बन्धमा भुटाहा प्रहरीले ढिलो जानकारी दिएको बताए । 
हदैसम्मको 
कारबाहीको माग 
खुर्सिद अन्सारीको हत्यापछि उनकी श्रमिती फोजिजाले हत्यारालाई तत्काल पक्राउ गरी हदैसम्मको कारबाहीको माग राखेकी छिन् । श्रीमान्को हत्यापछि फोजिजाले हत्या गरिएका श्रीमानको हत्यारा चाँडो पक्राउ गर्न आग्रह गरेकी हुन् । खुर्सिदका ४ छोरी तथा ३ छोरा छन् । 
राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धन
हत्यारा पक्राउ गरी कारबाहीको माग र सुरक्षालाई लिएर चौतर्फी विरोध भएपछि गृह मन्त्रालयले खुर्सिद अन्सारी हत्याका सम्बन्धमा छानबिन गर्न समिति बनाएको छ । प्रदेश नम्बर १ का एसएसपी किशोर दाहालको संयोजकत्वमा गठित समितिमा सशस्त्र प्रहरी उपरीक्षक रमेशकुमार थम्सु, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक तुलसी प्रसाईं, प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव रवीन्द्र आचार्य एवं सुनसरीका प्रशासकीय अधिकृत राजन पाण्डे छन् । समितिलाई १५ दिनभित्र घटनाको छानविन प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ । 
निष्पक्ष छानबिनको माग
राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनले मुस्लिम अगुवा खुर्सिद आलमको हत्याको निष्पक्ष छानबिनको माग गरेको छ । खुर्सिद आलमको हत्यापछि उनको नाम विभिन्न आतंकवादी संगठनसँग जोडिएकोमा उनीहरूले आपत्ति समेत जनाएका छन् । गठबन्धनका संयोजक समीम मियाँ अन्सारीले मुस्लिम समुदायमा मात्र नभएर यो आक्रमण देशको शान्ति–सुरक्षामा प्रश्न उठ्नेगरी भएको भन्दै छानबिनको माग गरेका छन् । खुर्सिद आलमलाई विभिन्न संगठनसँग जोडर समाचार आएको विषयमा बोल्दै उनले छानबिन समितिले सबै विषयमा छानबिन गरी सत्य–तथ्य सार्वजनिक गर्नुपर्नेमा जोड दिए । 
गठबन्धनका महासचिव मोहम्मद जाकिर हुसेनले छानविन समितिले तोकिएको समयभित्रै दोषी पत्ता लगाई यथार्थ बाहिर ल्याउनुपर्ने माग गरे । नेकपाका केन्द्रीय सदस्य महफुज आलमले नेपालमा पसेर भारतका अपराधीले जथाभावी गोली हानेको हुन सक्ने आशंका व्यक्त गरे । नेपालको सुरक्षाको आवश्यक प्रबन्ध नहुँदा समाजलाई खलल पुर्‍याउने गरी चलखेल भएको र मुस्लिम अगुवामाथि हुने श्रृंखलाबद्ध आक्रमणको अन्त्य हुनुपर्ने आलमको धारणा छ । 
मृतक आलमका भाई जावेद अन्सारीले समेत घटनाको छानबिन तथा दोषीलाई कारबाहीको माग गरेका छन् । खुर्सिदको हत्या भएपछि भ्रम फिँजाउने तरिकाले आएका समाचारप्रति आपत्ती जनाउँदै उनले घटनालाई गुपचुपमा राख्ने प्रपञ्च भएको बताए । जावेदले खुर्सिद आलम कुनै पनि आतंकवादी संगठनसँग सरोकार नराख्ने सामाजिक व्यक्ति भएको बताउँदै भ्रम छरिएको घटना प्रतिखेद समेत व्यक्त गरे ।
को हुन् खुर्सिद आलम ?
सुनसरीको हरिनगर गाउँपालिका –२ भुटाहा बजारका खुर्सिद आलम स्थानीय रैयान नेशनल स्कुलका सञ्चालक तथा प्रिन्सिपल हुन् । उनी तत्कालीन नेकपा एमालेका सुनसरी जिल्ला सल्लाहकार समेत थिए । खुर्सिद ०५३ सालदेखि नै एमालेको कार्यकर्ता रहेको हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले बताए । उनका अनुसार खुर्सिद स्थानीय मदरसाको बोर्ड सदस्य समेत हुन् । उनी इस्लामिक सामाजिक संस्थाहरूमा समेत आबद्ध थिए । 

‘चेन स्मोकर’ फुटबल प्रशिक्षक, जो चुरोट चपाएर पनि खान्छन

‘चेन स्मोकर’ फुटबल प्रशिक्षक, जो चुरोट चपाएर पनि खान्छन

काठमाडौं 
    चुरोटका अम्मली धेरै हुन्छन् संसारमा । तर, इंग्लिस फुटबल क्लब चेल्सीका प्रशिक्षक माउरिजियो सारीजस्ता चाहिँ कमै होलान् । उनी चुरोटको धुवाँ मात्रै उडाउँदैनन्, उस्तै परे चपाएर समेत खाइदिन्छन् ।
सुन्दा अचम्म लाग्न सक्छ तर, सारीको चुरोट मोह साँच्चै अनौठो छ । चुरोटबिना उनको तस्वीर पाउनै मुस्किल छ ।
उनी चेन स्मोकर नै हुन् । इटालियन क्लब नापोलीमा रहँदा खेल भइरहेका बेला पनि चुरोट पिउने छुट थियो । मैदानको बाहिरी लाइनमा बसेर धुँवा उडाइरहेका भेटिन्थे । अहिले प्रिमियर लिगमा भने त्यो छुट छैन ।
आफ्नो प्रशिक्षणको १९ औं क्लब चेल्सीमा रहेका सारीलाई यस्तो अप्ठ्यारो यसअघि थिएन । नापोलीअघि अर्को इटालियन क्लब इपोलीमा रहँदा पनि उनी उसैगरी मनमौजी धुँवा उडाइरहेका हुन्थे ।
पछि धेरै नै आलोचना हुन थालेपछि नापोलीले मैदानमै धुवाँ उडाउन प्रतिबन्ध लगायो । तर, सारीका लागि मैदान छेउमै चुरोट खाने एउटा विशेष स्थान नै छुट्याइदियो । त्यस्तो स्थान चेन्जिङमा रुममा पनि थियो । कतिसम्म भने टिम ‘अवे’ खेलका लागि प्लेनमा जाँदा उनी भने एक्लै रेल चढेर जान्थे । त्यसको एउटै कारण थियो बीच–बीचमा चुरोट खान पाइने लोभ ।
उनले दिनमा पाँच बट्टासम्म चुरोट सिध्याउने गरेको उनको नजिकै रहेर काम गरेकाहरु सुनाउँछन् । ‘सारी चुरोटमा असाध्यै डुब्छन् । त्यो एकदमै अविश्वसनीय छ’ नापोलीका कप्तान मरेक ह्यामसिक भन्छन्, ‘त्यस्तो धेरै चुरोट खाने मैले अरु कोही देखेको छैन । तर, त्यस्तरी चुरोटमा डुबेर पनि उनको सोच खेलभन्दा बाहिर कहिल्यै गएन ।’
सारी र चुरोटका सम्बन्धमा एउटा रोचक घटना छ । इटालियन र्‍यापर नास्टाले ‘जस्ट लाइक पाउरिजियो सारी’ बोलमा एउटा गीत नै बनाए । जुन गाएर उनले सारीसँगको भेट पक्का गरे ।
नास्टाले सारीसँगको भेटमा तस्वीर खिचाए र एउटा चुरोटको खिल्लीमा अटोग्राफ समेत लिए । उनी भन्छन्, ‘म्यारोडोनालाई भेट्दा फुटबलमा अटोग्राफ लिए जस्तै हो सारीसँग चुरोटमा लिनु ।’
चेल्सीले सारीलाई क्लबमा ल्याउने कुरा चलेसँगै उनका लागि नापोलीमा जस्तै चुरोट खान मिल्ने ठाउँ बनाइदिने बहस पनि चलेको थियो । जसमा क्लब सकारात्मक रहेको खबरहरु बाहिरिरहेका थिए ।
तर, पछि कुरा उठ्यो ‘ब्रिटिश एटिच्युड’ को ।
सारीको सम्बन्धमा बेलायती मनोवृत्तिको कुरा चेल्सीका मालिक रोमन एब्रामोभिचले नै उठाएका थिए । सारीले बेलायती मनोवृत्तिलाई स्वीकार गर्नुपर्ने उनले सार्वजनिक रुपमा नै बताएका थिए ।
मैदानमा चुरोट खाने बानी छाड्न मात्रै होइन, कोट लगाएर आउन पनि एब्रामोभिचको सुझाव थियो । सामान्यतः मैदानमा टिसर्ट टाउजरमा देखिने सारीले अहिलेसम्म कोट पनि लगाइसकेका छैनन् र चुरोट पनि छाडेका छैनन् ।
प्रिमियर लिगमा मैदान छेउ चुरोट खान लागेको प्रतिबन्धलाई उनले आफ्नै तरिकाले जवाफ दिए । चुरोट सल्काएर होइन, चपाएर खाइदिए ।
प्रिमियर लिगमा हडर्सफिल्डसँगको खेलको दौरान निकोटिनको साह्रै तलतल आएर होला, सारीले चुरोटको फिल्टरपपट्टीको भाग चुइगम चपाए जस्तो चपाइरहेका थिए । चुरोट खाँदा पनि धेरैजस्तो फिल्टरसम्म नै खाने उनले त्यसको लत मेट्न फिल्टर चपाइरहेको फोटो भाइरल नै बनेको थियो ।
चेल्सीमा सारीको अर्को तस्वीर पनि भाइरल बनेको थियो । प्रिमियर लिगको दोस्रो खेलमा चेल्सीले आर्सनलविरुद्ध गोल गर्दाको खुसी मनाइरहेका बेला सारीको हातमा चुरोटको बट्टा थियो ।
चेल्सीले पहिलो हाफमा दुई गोल गरेपछि पहिलो हाफमा नै आर्सनलले दुई गोल फर्काएको थियो । खेल निकै रोचक भइरहँदा प्रशिक्षक सारीलाई केही समय निकोटिनको तलतलले अत्यायो ।
‘पहिलो हाफको अन्तिम १५ मिनेट त निकै तनावपूर्ण थियो । बाँकी ७५ मिनेट मैले खेल निकै रमाइलो मानें । तर, त्यो १५ मिनेटमा मैले चुरोट खान पाएको भए निकै राम्रो हुने थियो’ खेलपछि सारीले भनेका थिए ।
‘म बेलुका मात्रै चुरोट खाने प्रयासमा छु । त्यो नसके पनि खेलको बेला नखान धेरै मेहनत गरिरहेको छु । कम्तिमा दुई वर्ष नखान सक्छु भन्ने लागेको छ’ उनले भनेका छन् ।
यसका लागि उनले आफ्ना बुबामार्फत प्रेरणा पनि पाएका छन् । यदि कसैले सारीको चुरोट खाने बानीमा नियन्त्रण गर्न सक्छ भने त्यो उनको बुबा नै हो । चेल्सीबाट बोलावट आएपछि जान सुझाव दिएका उनका बुबाले नै चुरोट कम गर्न सल्लाह पनि दिएका थिए ।
‘जब चेल्सीबाट मलाई लैजान खोजेको खबर बुबाले थाहा पाउनुभयो, उहाँले जाने सल्लाह दिनुभयो । साथै कम्तिमा चेल्सीमा दुई वर्ष चुरोट नखान पनि सल्लाह दिनुभएको थियो’ सारीले डेलीमेललाई भनेका छन् ।
यो सबैले सारीको मोह फुटबलमा भन्दा चुरोटमा बढी छ भन्ने लाग्ला । तर, कुरो त्यस्तो होइन । सारी फुटबलमा सिद्धान्त र मनोरञ्जनलाई एकसाथ लैजान्छन् । उनी भन्छन्, ‘तपाइँले खेललाई रमाइलो साथ अघि बढाउनु भयो भने मेहनत कम गर्दा पनि राम्रो नतिजा देखिन्छ ।’

नागढुंगा सडक आजदेखि १ सातासम्म राति बन्द हुने

नागढुंगा सडक आजदेखि १ सातासम्म राति बन्द हुने

 काठमाडौं ।
 त्रिभुवन राजपथअन्तर्गत नागढुङ्गा–पिपलामोड सडकखण्डमा सवारीसाधन आवागमन रोकिने भएको छ ।
चाडबाडको समयमा सडक मर्मत तथा सुधार गर्नुपर्ने भएकाले डिभिजन सडक कार्यालय काठमाडौँले बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्मका लागि सवारीसाधन आवागमनमा रोक लगाएको हो ।
डिभिजन प्रमुख देवकुमार तामाङले आजदेखि असोज २२ गतेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाएर सडक मर्मत गरिने बताए । ‘निर्माण सम्पन्न गर्न आवश्यक सहयोगका लागि सम्बन्धित निकायलाई पत्राचार गरेका छौँ,’ उनले भने।
उक्त सडक कृष कन्सट्रक्सनले मर्मत तथा सुधार गर्न लागेको हो ।
डिभिजन कार्यालयले चाडपर्व नजिकिँदै गर्दा विभिन्न स्थानको सडक मर्मत तथा सुधारलाई अगाडि बढाएको छ ।

दाङमा सहकारीले दिन थाल्यो प्रमाणपत्र धितोमा ऋण, एसईई उतिर्णले पनि पाउने

दाङमा सहकारीले दिन थाल्यो प्रमाणपत्र धितोमा ऋण, एसईई उतिर्णले पनि पाउने

घोराही ।
सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने नीति ल्याएसँगै दाङको एउटा सहकारी संस्थाले शैक्षिक प्रमाणपत्र धितोमा राखेर ऋण दिने भएको छ ।
घोराही उपमहानगरपालिका–१५ स्थित सिसा सगुन बचत तथा ऋण सहकारी संस्थाले शिक्षित बेरोजगार युवालाई स्वरोजगार बनाउन यस्तो खालको नीति ल्याएको हो ।
व्यवसाय गर्न चाहने शिक्षित युवालाई ऋण दिन शुरु गरिएको सहरकारीका अध्यक्ष बालचन्द्र शर्माले जानकारी दिए । शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने नीति संस्थाको साधारसभाले पारित गरेको उनले बताए ।
सो निर्णय शहरी रोजगार तथा शहरी प्रर्वद्धन शाखाको अनुमोदन गराएर स्वीकृत लिएपछि कार्यान्वयन गर्ने शर्माको भनाइ छ ।
सहकारीले एसइइ परीक्षा उत्तिर्ण गरेकालाई रु २५ हजार, प्रविणता प्रमाण पत्र तह उत्तिर्णलाई रु ५० हजार, स्नातक तह उत्तिर्ण गरेकालाई रु तीन लाख तथा स्नातकोत्तर तह उत्तिर्ण गरेकालाई रु पाँच लाखसम्म कर्जा दिने भएको छ ।
सो कर्जा दिनका लागि सहकारीले रु ५० लाख बजेट छुट्याइसकेको अध्यक्ष शर्माले बताए ।

Monday, October 01, 2018

निर्मला पन्त हत्या प्रकरणः एसपी विष्टको डिएनए रिपोर्ट मिलेन

निर्मला पन्त हत्या प्रकरणः एसपी विष्टको डिएनए रिपोर्ट मिलेन


           कञ्चनपुरको भीमदत्त नगरपालिकाका– २ की १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणमा निलम्बित प्रहरी उपरीक्षक डिल्लीराज विष्टसहित तीन जनाको डिएनए रिपोर्ट आएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं निर्मला हत्या काण्डका अनुसन्धान अधिकृत कृष्णराज ओझाले तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक विष्ट, उहाँका छोरा किरणराज विष्ट र भीमदत्तनगरका स्थानीय युवा आयुश विष्टको डिएनए रिपोर्ट आएको जानकारी दिए । प्रहरी नायब उपरीक्षक ओझाले तीनै जनाको रिपोर्ट मेल नखाएको बताए । “हिजो काठमाडौँबाट प्राप्त भएको रिपोर्ट आज बिहान जिप्रकामै खोलेर हेर्दा नेगेटिभ देखियो,” उनले भने, “घटनाको सुक्ष्म अनुसन्धान तीव्र गतिमा हुदैछ ।”
गत साउन १० गते बलात्कारपछि हत्या गरी उखुबारीमा फालिएकी निर्मलाको साउन ११ गते शव भेटिएको थियो । यसअघि घटनाको मुख्य अभियुक्त बनाइएका कञ्चनपुरको भीमदत्तनगरपालिका–१९ बागफाँटाका ४१ वर्षीय दिलीपसिंह विष्टको पनि डिएनए परीक्षण गरिएको थियो । विष्टको पनि रिपोर्ट मेल नखाएपछि उनलाई हिरासतमुक्त गरिएको थियो । भीमदत्तनगरमा आन्दोलनका क्रममा प्रहरी उपरीक्षक विष्टकै डिएनए परीक्षण गर्नुपर्ने माग उठेपछि केही समयअघि परीक्षणका लागि रगत लिइएको प्रहरीले जनाएको छ ।
“रिपोर्ट जस्तो आए पनि प्रहरीको अनुसन्धान चलिरहेकै छ,” ओझाले भने, “प्रहरीका धेरै टिम अनुसन्धानमा जुटेका छन् ।” कञ्चनपुरमा अहिले पनि विभिन्न महिला एवं दबाब समूहले निर्मलाका हत्यारालाई कारवाहीको माग गर्दै आन्दोलन गर्दै आएका छन् ।

हाँस्यकलाकार मनोज गजुरेल झापा कारागारमा

हाँस्यकलाकार मनोज गजुरेल झापा कारागारमा


          गर्मीको मौसम, त्यसमाथि तातो घाम । क्षमताभन्दा तेब्बर कैदीबन्दीका लागि कारागारको बसाई कष्टकर नहुने कुरै भएन तर आइतबार झापा कारागारका एक हजार २३ जना कैदीबन्दीले राष्ट्रिय कलाकार मनोज गजुरेलको प्रेरक प्रस्तुतिका कारण मनोरञ्जन मात्र होइन, शीतल पनि महसुस गरे ।
कैदीबन्दीको मानवअधिकार प्रवद्र्धन गर्ने उद्देश्यले सिस्नोपानी नेपालको प्रस्तुतिमा चन्द्रगढीस्थित झापा कारागारमा हाँस्यव्यङ्ग्य शिविर सञ्चालन भएको थियो । कार्यक्रममा प्रख्यात कलाकारसँगै गीत, कविता र नृत्यसमेत देखाउन पाएर कैदीबन्दी हर्षित बनेका थिए ।
हाँस्यकलाकार मनोज गजुरेलले काराबासको बसाइलाई निराशामा होइन, विगतका कमजोरी सच्याएर भविष्यमा नयाँ जीवन जिउने आशामा परिणत गर्न कैदीबन्दीलाई आग्रह गरे ।
उनले देशको ठूला पदमा पुगेका व्यक्तिसमेत जीवनको कुनै कालखण्डमा कारागारमा बसेको चर्चा गर्दै काराबासलाई विश्वविद्यालयसँग तुलना गरे । “कारागार पनि एउटा विश्वविद्यालय हो”, कलाकार गजुरेलले भने, “यहाँबाट बाँकी जीवन जिउने कला सिक्न सकिन्छ ।”
कार्यक्रममा कैदीका तर्फबाट रमेश पोखरेलले कविता प्रस्तुत गरिरहँदा अतिथि कलाकार गजुरेलसँगै झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले ताली बजाएर प्रशङ्सा गरे ।
कैदीबन्दीका लागि मानवअधिकार प्रवद्र्धन गर्ने र उनीहरुमा आत्मविश्वास जगाउने लक्ष्य लिएर प्रदेश नं १ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले विभिन्न जिल्लास्थित कारागारमा यस्तो कार्यक्रमको आयोजना गर्दै आएको छ ।
विराटनगर कारागारपछि सिस्नोपानी नेपालले झापा कारागारमा यो कार्यक्रम गरेको हो । प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद वसन्त बानियाँ पनि उपस्थित थिए ।
झापा कारागारमा हाल क्षमताभनदा तेब्बर एक हजार ३२ जना कैदीबन्दी रहेका छन् । कारागारको क्षमता ३५० को मात्र रहेको कारागारका निमित्त प्रमुख पदमलाल ओझाले बताउनुभयो । उहाँका अनुसार जीर्ण भवनमा रहेको कारागारमा ९४२ पुरुष र ९० महिला रहेका छन् ।

खुम्बु घुम्न आएका भारतीय पर्यटककाे ज्यान गयाे

खुम्बु घुम्न आएका भारतीय पर्यटककाे ज्यान गयाे    सोलुखुम्बु - सोलुखुम्बुको खुम्बुक्षेत्र घुम्न आएका भारतीय नागरिक रविकान्त मिश्...