२७ कात्तिक, गोरखा । प्रतिनिधि र प्रदेश सभा निर्वाचन नजिकिएसँगै जिल्लामा सुरक्षा चुनौती थपिएको छ । पेस्तोल र घरेलुु हतियारहरु बरामद भइरहेका छन् । यसले मतदातामा त्रास पैदा हुन थालेको छ ।
२१ कात्तिकमा माओवादी केन्द्रकी प्रतिनिधि सभा समानुपातिक उम्मेदवार सुशीला सिंखडा चढेको मोटरसाइकलमा तीन राउन्ड गोलीसहित पेस्तोल भेटियो । चुनावी कार्यक्रममा गएर आरुघाटबाट भीमसेन गाउँपालिकातर्फ जाँदै गरेकी थिइन्, उनी ।
सिंखडा सवार बा७३प ३३८६ नम्बरको मोटरसाइकलमा बाँधिएको झोला खोतल्दा नाइन एमएमको पेस्तोल भेटिएको थियो । प्रहरीसँगको बयानमा सिंखडाले झोलामा पेस्तोल भएकोबारे आफूलाई जानकारी नभएको दाबी गरेकी छन् ।
मोटरसाइकल चालक भीमसेन-४ का गुणप्रसाद खनाल फरार छन् । उनी वाईसीएलका केन्द्रीय नेता रहेको लोकतान्त्रिक गठबन्धनको दाबी छ ।
२२ कात्तिकमा सुलिकोट गाउँपालिकाको पन्द्रुङमा साँझ विष्फोट भयो । ठूलो आवाजमा भएको विष्फोटले स्थानीय बासिन्दा त्रसित भए । प्रहरीले भने भरुवा बन्दुक पड्केको बताएर घटनाबारे वास्ता गरेन । घरमा बर्थडे मनाउने क्रममा भरुवा बन्दुक पड्काइएको बताउँदै प्रहरीले नै घटना डाकछोप गर्यो ।
२३ कात्तिकमा भीमसेन-१ पीपलडाँडामा खुकुरीसहित दुई युवा पक्राउ परे । जाँचका क्रममा भीमसेन-४ का ३० वर्षीय अमृत तामाङ र ३४ वर्षीय भीमबहादुर सुनारको झोलामा खुकुरी बरामद भएको थियो । दुवैले आफ्नो सुरक्षार्थ खुकुरी बोकेको बयान प्रहरीलाई दिएका छन् ।
२५ कात्तिकमा गोरखा-१० छेवेटारमा एक व्यापारी खुकुरीसहित भेटिए । आँबुखैरेनीबाट गोरखामा किराना सामान बिक्री गर्न आएका उनको गाडीमा खुकुरी भेटिएको हो ।
केन्द्र सार्ने निर्णय गर्दा झडप
१९ कात्तिकमा भीमसेन गाउँपालिकाले बगुवास्थित केन्द्र घ्याम्पेसाल सार्ने निर्णय गर्यो । त्यसको विरोधमा उत्रिएका र समर्थनमा रहेका स्थानीय बासिन्दाबीच झडप भयो ।
गाउँ कार्यपालिकाको बैठकको निर्णय नै एक सदस्यले च्यातिदिएका थिए । कार्यपालिका सदस्य सुनिता बानियाँलाई लिन मोटरसाइकलमा आएका मसेल घ्याम्पेसालका सविन बानियाँलाई बगुवाका असन्तुष्ट युवाले खुकुरी प्रहार गरे ।
‘हेभिवेट’ नेता प्रतिस्पर्धामा
गोरखा-२ को निर्वाचन अभियान अहिले सर्वत्र चासोको विषय बनेको छ । उक्त क्षेत्रमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र माओवादी नेता नारायणकाजी श्रेष्ठ मैदानमा छन् ।
भट्टराई लोकतान्त्रिक र श्रेष्ठ वाम गठबन्धनका उम्मेदवार हुन् । उनीहरुको चुनावी अभियानमा भाडाका गुण्डादेखि पैसाको चलखेलसम्म हुन सक्ने शंका जिल्लावासीमा देखिन्छ ।
स्थानीय तहको निर्वाचनमा देखिएका त्यस्ता विकृति अहिले पनि दोहोरिन सक्ने उनीहरु बताउँछन् । त्यसका कारण झडपको स्थिति आउन सक्ने मतदाताको अनुमान देखिन्छ ।
गोरखा २ का अधिकांश मतदान स्थल संवेदनशील मानिएका छन् । त्यस क्षेत्रका अधिकांश प्रहरी चौकी टेन्टमा बसेका छन् । विनासकारी भूकम्प गएको ३० महिना बितिसक्दा पनि प्रहरी चौकीका भवन पुनर्निर्माण भएका छैनन् ।
दरबन्दीअनुसार प्रहरी जनशक्ति नहुँदा पनि समस्या छ ।
जिल्लामा दुई सय १३ मतदान स्थल र दुई सय ८२ मतदान केन्द्र छन् । ६८ मतदान स्थल अति संवेदनशील, एक सय १३ संवेदनशील र १२ लाई सामान्य मानिएको छ । चुनावी सुरक्षार्थ १८ सय ५८ म्यादी प्रहरी भर्ना गरिएको छ । कुल मतदाता एक लाख ८९ हजार चार सय ४८ छन् ।
उम्मेदवारले मागे अंगरक्षक
प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतका अनुसार जिल्लाका अधिकांश उम्मेदवारले अंगरक्षक मागेका छन् ।
‘कांग्रेस र माओवादीका सबै उम्मेदवारले अंगरक्षक माग्नुभएको छ,’ उनले भने । क्षेत्र नम्बर १ बाट कांग्रेसका प्रतिनिधि सभा उम्मेदवार चीनकाजी श्रेष्ठ, सोही क्षेत्रका प्रदेश ‘क’का धिरन थापा र ‘ख’का राजेन्द्र बजगाईंलाई अंगरक्षक उपलब्ध गराइएको छ ।
क्षेत्र नम्बर २ ‘ख’ कांग्रेस उम्मेदवार प्रकाशचन्द्र दुवाडीलाई पनि अंगरक्षक दिने निर्णय भएको छ ।
माओवादी केन्द्रका क्षेत्र नम्बर १ प्रतिनिधि सभा उम्मेदवार हरिराज अधिकारी, सोही क्षेत्र ‘क’का लेखबहादुर थापालाई पनि अंगरक्षक दिने निर्णय भएको प्रजिअ बस्नेतले बताए ।
गोरखा-२ का प्रतिनिधि सभा उम्मेदवार डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठलाई गृहमन्त्रालयबाटै सुरक्षाकर्मी खटाइएको छ । डा. भट्टराईलाई सशस्त्र प्रहरीका निरीक्षक तथा श्रेष्ठलाई नेपाल प्रहरीका नायब निरीक्षकको कमान्डमा सुरक्षाकर्मी उपलब्ध गराइएको छ ।
प्रजिअ बस्नेतका अनुसार सडक नपुगेको उत्तरी भेगमा हवाई गस्तिका लागि हेलिकोप्टर माग गरिएको छ ।