Monday, November 05, 2018

“पर्धान्मुन्तिरीज्यू ! तमी निकै छौ क्या ?”



“पर्धान्मुन्तिरीज्यू ! तमी निकै छौ क्या ?”

ad
“पर्धान्मुन्तिरीज्यू ! तमी निकै छौ क्या ?”

केपी काका नमस्कार !
म त्यो अभागी भतिज हुँ, जसले आफ्नो काका बिरामी पर्दा थाहासम्म पाइनँ । थाहा पाएको भए तपाईंको लागि प्राथना गर्थें । कस्सम । कर्णाली नदीको कस्सम । तपाईंलाई गरिएका प्रार्थनाहरू फेसबुक, ट्वीटरमा भाइरल भएका बेला म भने भाइरलका बिरामीहरूसँग जुम्लामा थिएँ । स्वास्थ्य शिविरमा । केही दिनअघि तपाईंलाई रोगले च्यापेका बेला म ढाडको हड्डी च्यापिएर थलिएका बूढाबूढीहरूसँग थिएँ । जुम्लामा । स्वास्थ्य शिविरमा । सारा नेपालीले तपाईंको रोगको चिन्ता गरेका बेला म नेपालमा थिइनँ, रोगी कर्णालीमा थिएँ ।
काका !
कर्णालीको स्वास्थ्य शिविरमा आफ्नो रोगलाई लिएर रोगीहरू आउन्न रै’छन् । रोगीलाई लिएर रोग आफैं आउँदो रहेछ । भाँचिएका ढाडहरू अर्काका ढाडमा चढेर आउँदा रहेछन् । गलेका पाठेघरहरू साडीले भुइँ टेकेर आउँदा रहेछन् । सेतो पानी बगिरहेका योनिहरू काला बाटाहरू भिजाउँदै आउँदा रहेछन् ।
घाँस काट्दा भीरबाट लोटेर (लडेर) एकजना हजुरआमाको ढाड धेरै अघि भाँचिएको रहेछ । काका ! मान्छेको ढाड भाँचिनु भनेको देशको राजनीति भाँचिनुजस्तो हो । उहाँलाई ढाड भाँचिनेबित्तिकै अस्पताल लगेर हड्डी जोड्नुपथ्र्यो नि, हैन ? तर लगिएन । काम्रो बाँधियो, काम चलाइयो, काम लगाइयो । कामको धमाधमका बेला जाबो ढाड भाँचिएको मान्छेलाई पनि उपचारमा लग्न सकिन्छ र ? त्यसमाथि पनि महिलालाई ! लगिएन । काम्रो बाँधियो, काम चलाइयो, काम लगाइयो । हड्डीको जात काका, कतै न कतै त जोडिनै पर्ने । उहाँको भाँचिएको हड्डी जहाँ भाँचिएको थियो, त्यहीँ जोडिएन । ढाडको अर्कै हड्डीमा अन्तै जोडियो । एकदमै नमिल्ने ठाउँमा । नमिल्ने ठाउँमा जोडिने यो कला त्यो हड्डीले हाम्रो देशका पार्टीहरूबाटै सिक्यो होला है, काका ? हड्डी अन्तै जोडिएपछि उहाँको ढाड यति बांगो भयो कि त्यो ढाड डोरी नभएको धनुषजस्तो देखिन थाल्यो । यदि डोरी टाँगेर तन्काउने हो भने त्यो धनुष भाँचिने थियो । डोरी लगाउँदा भाँचिने धनुष काम नलाग्ने धनुष हो । हैन काका ? ठीक । उहाँ काम नलाग्ने हुनुभयो । अब काम नलाग्ने महिलाको किन उपचार गर्नू ? उपचार गर्नै चाहँदा पनि यति महँगो उपचार गर्ने बाटो खै ? बाटो भन्नाले उपचार गर्न पैसा जुटाउने बाटो क्या काका !
उपचार गर्दा ती हजुरआमाको ढाडलाई के गर्नुपर्छ, थाहा छ तपाईलाई ? मलाई थाहा छ । आजभोलि डक्टरहरूको संगतमा छु । उहाँको ढाड फेरि एकपटक भाँच्नुपर्छ । त्यो हड्डीलाई पुरानै हड्डीसँग जोड्नुपर्छ । औधि क्याल्सियम खुवाउनुपर्छ । डर के छ भने बुढेसकालको त्यो रगतले साथ नदिन पनि सक्छ । रगतको बुढेसकाल झन् कमजोर हुँदो रै’छ । रगतले साथ दिएन भने उहाँ डोरी जोड्ने ठाउँसमेत नभएको धनुष बन्नुहुनेछ । त्यसपछि त उहाँले बाँकी जीवनभरि एउटै दिन पर्खिनु पर्नेछ— आफ्नो शरीर जल्दै जल्दै थोपा–थोपा भएर कर्णालीका थोपाहरूमा मिसिने दिन । आफू धूवाँको टुक्रा भएर कर्णालीको एक टुक्रा आकाशमा मिसिने दिन । अनि त्यो दिन नआउन्जेलसम्म पन्ध्र मिनेट लगाएर एक गास निलिरहनु पर्नेछ । त्यही पनि कसैले दिए भने ।
काका !
यो फोटोमा देखिएका सबैसँग औंलाहरू छन् । फोहोर छन् तर औंलाहरू छन् । यी सबै औंलाले भोट हालेका हुन् काका । फोटोमा देखिन्छ या देखिन्न तर यी सबैसँग ढाड छन् । यी ढाड या त भाँचिएका छन्, या त लछारिएका । यी मान्छेहरूसँग एउटा फोक्सो पनि छ, जसलाई दिनरात कालो धूवाँले चिरहरण गर्छ । यी मान्छेहरूसँग आँखा पनि छन् । आँखा यति रोगी भइसकेका छन् कि यिनीहरूले सपना पनि धमिलो देख्छन् । यी सबैसँग छाती पनि छ । अलि बलियो गरी खोक्यो भने भत्कीजालाजस्तो छाती । त्यो छातीमा आँट छैन काका । आँट किन छैन भने नि उनीहरूको शरीरको दुईतिहाइ अंग आफ्नो होइन । रोगको हो । दुईतिहाइ आफूसँग नहुँदा आँट नहुँदो रै’छ काका ! यीसँग पैताला पनि छन्, नेपालको राष्ट्रिय झन्डामा भएका सूर्य र चन्द्रमामा ती तिखा–तिखा काँडाहरू छन् नि, तिनैले खोपेर होला कि क्या हो, यी पैतालाहरूमा प्वालै प्वालहरू छन् । 
यो शिविरमा भेला भएका प्रायःको रोग खुब पुरानो छ । ०६२/६३ को आन्दोलनभन्दा पुरानो, कसैको त ०४६ को आन्दोलनभन्दा पुरानो, २००७ तिरका रोगहरू खासै छैनन् काका । हुनु पनि हुन्न नि हैन ? कर्णालीको मान्छे त्यति लामो बाँच्ने ? देशलाई वर्षौं शोषण गरेको भाषा उत्पत्ति भएको ठाउँका मान्छे काँ त्यति लामो बाँच्ने ? देशलाई वर्षौं शोषण गरेको जाति भएको ठाउँका मान्छे कहाँ यति लामो बाँच्नु हुन्छ ? यी शोषकहरूको आयु यति लामो भयो भने त देशमा गणतन्त्र आएको के अर्थ भयो र काका ?
यहाँ भेला भएका रोगीहरूलाई हामी (अनमोल फाउन्डेसन)सँग नेपालगन्ज मेडिकल कलेजबाट आएका डक्टरहरूले सोध्नुभयो, “पहिल्यै डक्टरलाई भेट्न किन नजानुभएको ?”
उहाँहरूको उत्तर डरलाग्दो छ काका । भनुम् ?
“काम गरेन भने त खानै हुन्न, खानै पाइएन भने बाँचिदैन । रोगमात्रै लाग्दा त बाँच्न त बाँचिन्छ नि ! काम छोडेर उपचार गर्न कसरी लानू ?”
काका ! कोही रोगी भए भने यहाँ हिउँदमा मात्रै उपचार गराउन लाने चलन रै’छ । गरिबले दशैं–दशैंमा मात्र खसी खाने चलन भएजस्तो । नयाँ लुगा भनेकै नयाँ कक्षामा पुग्दा लगाउन पाइने स्कुले पोशाकजस्तो । अनि हिउँद भनेको उपचार गर्ने मौसम रै’छ, चाहे रोग जुनसुकै मौसममा लागोस् । कसै–कसैले उपचार गराउन तल लानुहुँदो रै’छ, तल भन्नाले काठमान्डू हैन है काका । काठमान्डू त यहाँका मान्छेका लागि मात्र २ वटा प्रश्नको उत्तर मात्रै हो रै’छ—
प्रश्न १ः तपाईंको राजधानी कुन हो ?
प्रश्न २ः तपाईंका प्रधानमन्त्री (पहिलेका राजा) कहाँ बस्नुहुन्छ ?
तल भन्नाले सुर्खेतसम्म, या त कोहलपुर वा नेपालगन्जसम्म । त्यो पनि प्राथमिकतामा पुरुष ।
काका ! कर्णालीमा लोग्ने मान्छेलाई राज्यले थिच्दो रहेछ, रोगले थिच्दो रहेछ । स्वास्नी मान्छेलाई राज्यले थिच्दो रहेछ, रोगले थिच्दो रहेछ, लोग्ने मान्छेले थिच्दो रहेछ । स्वास्नी मान्छेको त राज्य, रोग र लोग्ने मान्छेबाट हरेक दिन सामूहिक बलात्कार ।
शिविरमा आउनुभएका सयौं स्वास्नी मान्छेहरूले डक्टरहरूलाई सुनाएको रोग सम्झिँदा अहिले पनि हिँड्दाहिँड्दै ऐंठन होलाजस्तो हुन्छ । शिविरमा स्त्रीरोग हेर्नका लागि बनाइएको एउटा कोठामा मैले कुरा सुनेका २४ स्वास्नी मान्छेमध्ये १३ जनाले भन्नुभयो, “यस्तरी रोगले थलिनु भन्ना त मन्नु निको ।”
काका ! २४ मा १३ भन्नाले यहाँ आधाभन्दा बढी स्वास्नीमान्छे मर्ने प्राथना गरिरहेछन् । कहाँ–कहाँ पो रोग छैन हौ ! मैले भनें नि, दुईतिहाइ शरीरमा रोग छ । मैले यो चिठीमा ती रोगहरूको सूची तयार गर्ने हो भने तपाईंले यो चिठी यहीँ पढ्न छोड्नुहुनेछ । त्यसैले लेख्दिनँ । अँ, म भन्दै थिएँ— यहाँ आधाभन्दा बढी स्वास्नी मान्छे मर्ने प्राथना गरिरहेछन् । मेरो कानमा यो वाक्य गुञ्जिरहेछ, “पशुपतिनाथले हामी सबैको कल्याण गरून् !”
काका ! कर्णालीबाट टाढा भएर होला— पशुपतिनाथले उहाँहरूको प्राथना सुन्दैनन् । कतै पशुपतिनाथ राजधानीमा भएर त हैन ? हुन त पशुपतिनाथसँग फोन छ, तर कर्णालीमा प्रायः फोन नलाग्दो रै’छ । जुम्लाले काठमान्डूलाई एप्पल पठाइरह्यो तर एप्पल या अरु कुनै फोनमा काठमाडौंले नेटवर्क पठाएन ।
पशुपतिनाथ पुरुष भएकाले यहाँका स्वास्नी मान्छेको कुरा नसुनेका त हैनन् होला है काका ? यहाँका पुरुषले त खासै नसुन्दा रहेछन् । हुन त देशैभरिका पुरुषहरूले खासै सुन्दैनन् । शरीरलाई गाह्रो भएका बेला पनि श्रीमान्लाई ‘आज ममाथि नचढ्नुस्’ भन्ने आँट यहाँका स्वास्नी मान्छेसँग रहेनछ । ढाडै भाँचिएकाहरूले पनि त्यसो भन्न सक्दारहेनछन् । यो देवी पुजिने भूमिमा यस्तो कसरी भयो काका ? कर्णालीमा मात्रै हैन, यो देशमै स्वास्नी मान्छेको हड्डी भाँचिएर पनि आफ्नो लिंगको इच्छा पूरा गर्न लोग्ने मान्छेहरू कसरी तयार भए ? लिंगमा हड्डी नभएर हो ?
काका हौ ! केही गरूम् न ! म आफू पनि रोगी भएर होला कि क्या हो, रोगीहरूको खुब माया लाग्छ । दया हैन । तपाईं पनि त रोगी हुनुहुन्छ । तपाईंहरू भन्नुहुन्थ्यो नि, ‘संसारभरिका मजदुरहरू एक होऊँ !’ मलाई पनि भन्न मन लागेको छ, “संसारभरिका रोगीहरू एक होऊँ !”
डाक्टरलाई भेट्नकै लागि भएको जनयुद्ध देख्नुभएको छ काका ? यो फोटो हेर्नुस् ।

डक्टरहरूलाई आफ्नो सबैभन्दा पुरानो साथी (रोग)सँग भेट गराउन हुँदै गरेको जनआन्दोलनको एक टुक्रा हो यो । यो शिविरमा डक्टरहरूले करिब १ हजार बिरामीको रोग हेर्ने र औषधि दिने काम गर्नुभयो । यत्रा गाउँले यहाँ आए तर अस्पताल किन गएनन् भन्नेजस्तो तपाईंलाई लाग्यो होला । किनभने—
१) यो स्वास्थ्य शिविर निःशुल्क थियो ।
२) यो स्वास्थ्य शिविर बिरामीहरूको गाउँमा गएको थियो ।
आफैं अस्पतालसम्म पुग्न जुन आँट, पैसा, समय र चेतना चाहिन्छ, त्यो यहाँ पर्याप्त छैन ।
बिन्ती काका ! जसरी शहरहरूमा सामानहरूको निःशुल्क होमडेलिभरी हुन्छ, त्यसैगरी विकट गाउँहरूमा डक्टर र औषधिहरूको निःशुल्क होमडेलिभरी गर्दिनुपर्‍यो ।
तपाईं देशको अभिभावक हो काका । आफ्ना परिवारहरूको रोग पत्ता लगाउनुस् । जुनै सदस्यले जति नै पैसा कमाए पनि यदि परिवारमा एउटा सदस्यमात्र रोगी छ भने पनि त्यो सिंगो परिवार रोगी हुन्छ । यो स्वास्थ्य शिविर सञ्चालन गर्ने 'अनमोल फाउन्डेसन'ले अघिल्लो पटक कालिकोटको कालिका गाउँपालिकामा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा मुटुमा प्वाल भएका चार बालबालिका भेटिए । तिनको उपचार गरियो र निको भए । काका ! मुटुका प्वाल टालिएका यिनै बालबालिकाले भोलि देशका प्वाल टाल्नेछन् । त्यो शिविर सञ्चालन नभएको भए पानको पातजत्रा ती मुटुहरूलाई हल्का हावाले भुइँमा झारिदिने थियो । यो देशमा कति धेरै मुटुमा प्वाल छन् ? त्यो पत्ता लगाउने काम तपाईंको हो काका । यो देश हाँक्ने नेता जन्माउने कति वटा पाठेघरमा क्यान्सर हुन लागेको छ, त्यो पत्ता लगाउने काम पनि तपाईंकै हो काका !
यो कवि भावुक भएर आँशु झार्दै यस्तो लेख्यो भन्ने नठान्नुहोला, रिस उठ्दा पनि आँशु नै झर्छ ।
तपाईं पनि शब्दसँग यति मीठो खेल्नुहुन्छ, तपाईं पनि त कवि नै हो । कल्पना गर्नुस् कविजी कल्पना ! अस्ति ‘रारा पर्यटन वर्ष २०७५’को घोषणा गर्न तपाईं र अरु सयौं मान्छे रारा पुग्दा लाखौं खर्च भएको रहेछ । तर, कल्पना गर्नुस् कविजी, त्यो पैसाले कर्णाली क्षेत्रमा ५० वटा स्वास्थ्य शिविर सञ्चालन गरेर त्यसैलाई ‘रारा पर्यटन वर्ष २०७५’को उद्घाटन भनी घोषणा गरेको भए कति धेरै मुटुका प्वाल टालिन्थे होला ? कति धेरै हड्डीहरू सही ठाउँमा जोडिन्थे होला ? कति धेरै आमाका पाठेघरहरू जिउँदै बचाउन सकिन्थ्यो होला ! कल्पना गर्नुस् कविजी, कल्पना !
विभिन्न बहानामा गरिने फेद न टुप्पोको भ्रमणमा हुने राज्यको करोडौं पैसा अब देशका जनताको रोग पत्ता लगाउन र त्यसको उपचार गराउन खर्च हुनुपर्छ । म फेरि दोहोर्‍याऊँ काका ? जसरी शहरहरूमा सामानहरूको निःशुल्क होमडेलिभरी हुन्छ, त्यसैगरी विकट गाउँहरूमा डक्टर र औषधिहरूको निःशुल्क होमडेलिभरी गर्दिनुपर्‍यो ।
कालिकोटको ताडी गाउँमा पैदल हिँड्दा मैले सयौं रोगहरूलाई भेटें काका । ती रोगहरू आफू ठ्याक्कै को हुँ भनेर चिनिन चाहन्छन् । रोगहरूलाई पनि आफूलाई चिनिन मन लाग्दो रहेछ काका ! एउटा स्वास्थ्य शिविर त्यहाँ गर्नु छ । त्यो गाउँका रोगहरूले तपाईंलाई सोध्दै थिए, “पर्धानमुन्तिरीज्यू, तमी निकै छौ क्या ?”
६ महिनाको बिरामी बच्चालाई सुइँ हान्न डक्टरहरूले नसा खोज्दाखोज्दै कर्णालीमा अनमोल शाहीको मृत्यु भयो । उनका बाबु निराजन शाहीको नसाबाट पनि आँसु बग्यो । आफूले ६ महिने छोरो गुमाए पनि अरु अनमोल बच्चाहरू उपचार नपाएर नमरून् भनेर निराजनले ‘अनमोल फाउन्डेसन’ खोले । त्यही फाउन्डेसनले गरिरहेथ्यो जुम्लाको गाउँ गोठीज्युलामा यो स्वास्थ्य शिविर । रारा तालमा साहित्यिक र सांस्कृतिक महोत्सव गर्न हिँडेको यो ‘अनमोल फाउन्डेसन’ले त्योभन्दा महत्त्वका साथ यो स्वास्थ्य शिविर आयोजना गर्‍यो ।
काका ! मैले रारा तालको छेवैमा कविता कन्सर्ट गरें । सयौं मुगाली जनतालाई कविता सुनाएँ तर मलाई लागिसक्यो कि अब म कविता कन्सर्टमा भन्दा बढी निःशुल्क स्वास्थ्य शिविरमा हुनुपर्छ । मैले कर्णालीमा जति सुन्दर दृश्यहरू देखें, त्योभन्दा सुन्दर बाटाहरू देखें, जसबाट बिरामीलाई डक्टरसम्म पुर्‍याउन सकिन्छ । सुन्दर कर्णालीलाई सजिलो कर्णाली पनि बनाउनुपर्छ । ‘रारा पर्यटन वर्ष २०७५’ सफल रहोस् ।
काका ! तपाईं आफैं रोगी हुनुहुन्छ, त्यसैले तपाईंलाई थाहा छ— रोगी मान्छेहरूलाई गरिएको एक थोपा माया एक नदीजति हुन्छ । काका ! मेरो बुबालाई तपाईं खुब मन पर्नुहुन्छ । मलाई पनि तपाईं खुब मन पथ्र्यो । तर, किन–किन मलाई लाग्छ— तपाईं औधि मन पराइनु पर्ने मान्छे हो । रोगी कविलाई मान्छेले खुब मन पराउँछन् भन्ने कुरा मलाई थाहा छ । जनतालाई तपाईंसम्म पुर्‍याउने केही मान्छेहरूमा समस्या छ जस्तो लाग्छ । तपाईंसम्म पुग्ने त्यो च्यानल झिरझिर छ जस्तो लाग्छ । तपाईंलाई नदीको सम्झौताका बारेमा बताउने मान्छेहरू होलान् तर तपाईंलाई बेला–बेला पानी पिउन सम्झाउने मान्छेहरू छैनन् होला । काका ! साना कुरामा माया गर्नेहरू ठूला हुन्छन् ।
तपाईंलाई देशका रुखहरूको सम्झौताबारे बताउनेहरू होलान् तर तपाईंलाई कुनै रुखको छहारी ओढ्दै एक फोक्सो शुद्ध हावा लिन बेला–बेला रुखहरूतिर लाने मान्छे छैनन् होला । भन्नुपर्ने कुराहरू अझै छन्, अर्को चिठिमा भनौंला ।
यो लेखिरहँदा म कालिकोटमा छु । मैले कर्णालीबाट विषादी नहालेको हिमाली जडिबुटीको चिया ल्याएको छु, जुम्ली सिमी ल्याएको छु, जुम्लाका स्याउको चाना ल्याएको छु, दाँते ओखर ल्याएको छु, कोदोको पीठो ल्याएको छु । केही दिनपछि काठमान्डू फर्किंदै छु । यीमध्ये हजुरलाई केही चाहिए म एउटा पोको कर्णालीको कोसेलीस्वरूप जरुर दिनेछु । मैले भनें नि, म आफू रोगी भएर होला— रोगीहरूको खुब माया लाग्छ ।
यति लामो चिठी पढुन्जेल धेरै समय बितिसक्यो, तपाईंलाई डिहाइड्रेसन नहोस् । एक गिलास उमालेको तातो पानी पिउनुहोला । 
उही तपाईंको झापाली भतिज
नवराज पराजुली
अहिले मान्म, कालिकोट ।

Sunday, November 04, 2018

कांग्रेससँगै मिलेर शान्ति प्रक्रिया सम्भव, अब संविधानको कार्यान्वयन गर्नुपर्छ : प्रचण्ड


काठमाडौं– पूर्वप्रधानमन्त्री एवम्  नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकता र मेलमिलाप आजको आवश्यकता भएको बताएका छन् । दशैं, तिहार र छठ पर्वको अवसरमा नेपाली कांग्रेसले आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले सो कुरा बताएका हुन् । 
पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले चियापानले आपसी एकता र सदभाव बढाउने बताउँदै एकता र मेलमिलाप आज पनि उत्तिक्कै आवश्यक रहेको बताए । उनले भने, ‘चियापानको सुरुवात विगतमा वीपी कोइरालाले गरेका हुन्  । यो त्यसैको निरन्तरता हो । यसले आपसी सदभाव र एकता ल्याउन मद्दत गर्छ । एकता र मेलमिलाप आज पनि आवश्यक छ ।’ 
अध्यक्ष प्रचण्डले अहिलेको राजनीतिक परिवर्तन पनि पार्टीहरुबीचको एकताले मात्र सम्भव भएको बताए । अध्यक्ष प्रचण्डले भने, ‘राजनीतिक स्थिरताका लागि कांग्रेससँगै मिलेर शान्ति प्रक्रिया सम्भव भयो । अब सबै मिलेरै संविधानको कार्यान्वयन गर्नुपर्छ, त्यसपछि मुलुकमा समृद्धि आउँछ ।’
कार्यक्रममा पूर्वप्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले चियापान विगतदेखिको परम्परा भएको बताउँदै यसले वीपीले प्रतिपादन गरेको मेलमिलापको नीतिलाई सहयोग गर्ने बताए । उनले मुलुकमा अहिले पनि मेलमिलापको नीति आवश्यक रहेको बताउँदै यसले आपसी सदभाव बढाउने बताए । 

पाडापाडीकाे जन्मदर्ता : भैँसीलाई ‘सुत्केरी भत्ता’ ५ हजार, पाडीलाई २० हजार !

पाडापाडीकाे जन्मदर्ता : भैँसीलाई ‘सुत्केरी भत्ता’ ५ हजार, पाडीलाई २० हजार !

काभ्रे । पनौती नगरपालिकाले कृषकले पाडापाडीकाे जन्मदर्ता गरेमा भैँसीलाई ‘सुत्केरी भत्ता’ बापत ५ हजार दिने गरेको छ। भैँसी सुत्केरी भत्ता वितरण गर्न नगरपालिकाले चालू आर्थिक वर्षमा आठ लाख रुपैयाँ छुट्याएको छ।

नगरप्रमुख भीम न्यौपाने भैँसी सुत्केरी भएको हेर्न किसानको गोठ-गोठमा पुग्ने गरेका छन्। भैँसीपालक किसानलाई प्रोत्साहन गर्न नगरले भैँसीका पाडापाडी दर्ता अभियान पनि थालेको छ।
व्यावसायिक पशुपालनमा किसानलाई प्रोत्साहन दिन नगरपालिकाले भैँसी सुत्केरी खर्च उपलब्ध गराउन थालेको न्यौपानेले जानकारी दिए। ‘किसानलाई भैँसीपालनमा आकर्षित गरी आत्मनिर्भर बनाउन भैँसी सुत्केरी कार्यक्रम सुरु गरेका हौँ,’ उनले भने।


तर भत्ता लिन किसानले भैँसीकाे बिमा समेत अनिवार्य लिनुपर्छ। जन्मदर्ता गरिएको पाडी पछि सुत्केरी भएमा किसानलाई २० हजार रुपैयाँ थप ‘पालनपोषण’ भत्ता उपलब्ध गराइने पशुपक्षी चिकित्सक मणि सापकोटाले जानकारी दिए, याे समाचार अन्नपूर्ण पाेस्टमा छ।

सरकारले छानेको १०० नयाँ पर्यटकीय गन्तव्यमा सोलुखुम्बुका दुई

सरकारले छानेको १०० नयाँ पर्यटकीय गन्तव्यमा सोलुखुम्बुका दुई


कात्तिक, २०७५/सोलुखुम्बु समाचार - सरकारले प्रबद्र्धन गर्न लागेको एक सय वटा नयाँ पर्यटकीय गन्तव्यमा सोलुखुम्बुका दुई गन्तव्य परेकाछन् । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकामा रहेको स्याङबोचे र महाकुलुङ गाउँपालिकामा रहेको पाँच पोखरी सय नयाँ पर्यटकीय गन्तव्य भित्र पर्न सफल भएको हो । 
सँस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयले ओझेलमा परेका एक सय वटा नयाँ पर्यटकीय गन्तव्यलाई छनोट गरेको हो । स्थानीय, प्रदेश सरकार तथा नेपाल पर्यटन बोर्डवाट सिफारिस गरिएका नयाँ ६ सय भन्दा बढी गन्तव्यवाट एक सय वटा नयाँ गन्तव्य छनोट गरिएको सँस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयका प्रबक्ता घनश्याम उपाध्यायले जानकारी दिए ।
मन्त्रालयका अनुसार छनोटमा परेका पर्यटकीय गन्तव्यहरु निजी क्षेत्र, स्थानीय सरकार र स्थानीयको सहयोगमा घुम्नयोग्य बनाइनेछन् । प्रशस्त सम्भावना भएपनि ओझेलमा परेका यस्ता गन्तव्यको ष्कितस, प्रचार प्रसार तथा संरक्षण गरेर घुम्न योग्य बनाइनेछ । नयाँ पर्यटकीय गन्तव्य प्रवद्र्धन गर्न सरकारले ५० करोड रुपैयाँ बिनियोजन गरेको छ ।
हेर्नुहोस् कुन जिल्लामा कुन गन्तव्य ?

सोलुदुधकुण्ड नगरलाई २०७८ जेठ भित्र बालमैत्री स्थानीय शासन अबलम्बन घोषणा गरिने

सोलुदुधकुण्ड नगरलाई २०७८ जेठ भित्र बालमैत्री स्थानीय शासन अबलम्बन घोषणा गरिने



कात्तिक  - सोलुदुधकुण्ड नगरपालिकालाई २०७८ जेठ भित्र बालमैत्री स्थानीय शासन अबलम्बन क्षेत्र घोषणा गर्ने प्रतिबद्धता गरिएको छ । शनिबार बालमैत्री स्थानीय शासन अबलम्बन अभिमुखिकणको समापन गर्दै जनप्रतिनिधि, निजामति कर्मचारी, शिक्षक, विद्यार्थी लगायतका सरोकारवालाले सामूहिक रुपमा प्रतिबद्धता जनाएका हुन् । कार्ययोजना निर्माण गर्दै नगरपालिकालाई २०७८ जेठ सम्ममा बालमत्री स्थानीय शासन अबलम्बन गरि घोषणा गरिसक्ने प्रतिबद्धता जनाइएको हो ।
प्रतिबद्धता पछि मेयर नाम्गेलजाङबु शेर्पाले बालबालिकाको चौतर्फी विकास संगै बालमैत्री स्थानीय शासन अबलम्बन गर्न पुर्ण प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले बालबालिकाको विकासवाट मात्रै राज्य समुन्नत हुन सक्ने भएकाले उनीहरुको विकासमा नगरपालिका लाग्ने बताउनुभयो ।
अभिमुखिकरणको सहजीकरण विष्णु प्रसाद चौवे र सोलुदुधुकुण्ड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विजयराज सुवेदीले गर्नुभएको थियो 

खुम्बु घुम्न आएका भारतीय पर्यटककाे ज्यान गयाे

खुम्बु घुम्न आएका भारतीय पर्यटककाे ज्यान गयाे    सोलुखुम्बु - सोलुखुम्बुको खुम्बुक्षेत्र घुम्न आएका भारतीय नागरिक रविकान्त मिश्...