Sunday, July 08, 2018

‘फेक रेस्क्यु’ को डरलाग्दो धन्दा

‘फेक रेस्क्यु’ को डरलाग्दो धन्दा

ट्रेकिङ एजेन्सी, हेलिकोप्टर र अस्पताल सञ्चालकको साँठगाँठमा लुटिन्छन् बीमा कम्पनी

फेक रेस्क्यु प्रकरणमा अनुसन्धान दायरामा रहेकाे अल्टिच्युट एयरकाे हेलिकाेप्टर
फेक रेस्क्यु प्रकरणमा अनुसन्धान दायरामा रहेकाे अल्टिच्युट एयरकाे हेलिकाेप्टर

डाक्टरले पेशागत मर्यादाको धज्जी उडाउँदै अनावश्यक औषधि एवं सेवा प्रयोगको झुटो विवरणमा हस्ताक्षर गरेका छन्।

अष्ट्रेलियाकी पर्यटक जेसिका रिभेसलाई सगरमाथा आधार शिविर पदयात्राका क्रममा सामान्य रुघाखोकी लाग्यो। उनले गाइडसँग छलफल गरिन्।
NIC ASIA
गाइडले सल्लाह दिँदै भने, ‘उद्धारका लागि तत्काल हेलिकोप्टर नबोलाए ज्यान खतरामा पर्नसक्छ।’
जेसिकाको समूहमा ६ जना पर्यटक थिए। उनीहरुलाई सामूहिक रुपमा हेलिकोप्टरबाट काठमाडौं फर्काइयो। तर जेसिकाको समूहलाई सगरमाथा आधार शिविर पठाउने ट्रेकिङ एजेन्सी हिमालय सोसल जर्नीले बीमा कम्पनीलाई इमेल लेख्यो, ‘जेसिकालाई एक्लै उद्धार गरिएको हो। अरुलाई पनि त्यसरी नै एक्लाएक्लै उद्धार गरिएकाले छुट्टाछुट्टै भुक्तानी दिनुपर्याे।’
‘हामी चार जना एउटै हेलिकोप्टरमा काठमाडौं फर्किएका थियौं’, जेसिका भन्छिन्। एक्लाएक्लै उद्धार गरेको देखाउनुको कारण बढी असुली थियो। एक्लाएक्लै उद्धारको विवरण देखाएर हिमालय सोसलले बीमा कम्पनीसँग ३५ लाख रुपैयाँ (३५ हजार अमेरिकी डलर) असुल्यो।
ट्रेकिङ एजेन्सी कम्पनीले बीमा कम्पनीसँग झुटो बोल्न सिकाएको उनी बताउँछिन्। यो गत वर्षको घटना हो। नेपालको पर्यटन क्षेत्रमा हुँदै आएको फर्जी उद्धार (फेक रेस्क्यु)को यो एउटा प्रतिनिधि घटना मात्रै हो। पर्यटन माफियाको मिलेमतोमा यस्तो ठगी फस्टाउँदो छ। ट्रेकिङ एजेन्सी र तिनका गाइड, अस्पताल र तिनका डाक्टर एवं हेलिकोप्टर कम्पनीबीच साँठगाँठमा याे कालाे धन्दा बढ्दो छ।
ट्रेकिङ एजेन्सीहरू पछिल्लो समय पर्यटकबाट लिने ट्रेकिङ शुल्कभन्दा हेलिकोप्टर उद्धारबाट कमाउन रुचाउँछन्। यसमा पनि सबैभन्दा आकर्षक हो ‘फेक रेस्क्यु’। यसले गर्दा पछिल्लो समय नेपालमा पर्यटक उद्धारको संख्या अस्वभाविक रूपमा बढ्दो छ।
नेपाल घुम्न आउने अधिकांश अमेरिकी एवं युरोपेली पर्यटक बीमा गराएर मात्र आउने गर्छन्। यो दुई किसिमको हुनेगर्छ। एउटा, पर्सनल बीमा र अर्को ‘मेडिकल इभ्याकुएशन’सहितको ‘कम्प्रिहेन्सिभ’ बीमा। काठमाडौंबाट हिमाली पदयात्रामा निस्किनु अघि पर्यटकको इन्स्योरेन्स कम्पनी, पोसेली नम्बर र नजिकका व्यक्तिको सम्पर्क नम्बर ट्रेकिङ एजेन्सीले राख्नेगर्छ।
ट्रेकिङ एजेन्सी, हेलिकोप्टर र हस्पिटलबीच यसरी हुन्छ साँठगाँठ
ट्रेकिङ एजेन्सी, हेलिकोप्टर र हस्पिटलबीच यसरी हुन्छ साँठगाँठ
खानामा ‘टेस्टिङ पाउडर’
फेक रेस्क्यु प्रकरणको कथा गाइडबाट सुरु हुन्छ। गाइडले हेलिकोप्टर आवश्यक रहेको पहिलो जानकारी काठमाडाैंस्थित ट्रेकिङ एजेन्सीलार्इ दिन्छ। फिल्डबाट आएको जानकारीका आधारमा ट्रेकिङ कम्पनीले बीमा कम्पनीलाई इमेल गर्छ, ‘तिम्रो कम्पनीबाट बीमा गरेको फलानाे व्यक्ति अप्ठ्यारोमा छ। तत्काल हेलिकोप्टर उद्धार नगरे ज्यान खतरामा छ।’ ट्रेकिङ कम्पनीले यही व्यहोराको इमेल पर्यटकका आफन्तलाई पनि पठाउँछन्। र बीमा कम्पनीलाई उद्धार स्वीकृतिका लागि दवाब बढाउन आग्रह गर्छन्।
ट्रेकिङ कम्पनीले यस्तो फेक रेस्क्यु व्यवस्थापन गर्ने जिम्मा कतिपय अवस्थामा तेस्रो कम्पनीलाई दिने गर्छन्। रेस्क्युको बजार बढेकाले काठमाडौंमा अहिले दर्जनभन्दा बढी यस्ता कम्पनीहरु खुलेका छन्।
‘आफूले गर्न नसक्ने एजेन्सीले रेस्क्यु कम्पनीहरुलाई जिम्मा दिन्छन्’, एक ट्रेकिङ व्यवसायीले नाम उल्लेख नगर्ने शर्तमा नेपालखबरसँग भने, ‘इन्स्योरेन्सबाट सकारात्मक जवाफ ट्रेकिङ कम्पनीले पाएपछि मात्रै हेलिकोप्टर उड्ने हो नत्र उड्दैन।’
पर्यटकलाई झाडापखला लगाउने औषधि खुवाएर समेत हेलिकोप्टर उद्धार गरेका घटनाबारे हिजाेअाज पर्यटन व्यवसायीबीच चर्चा हुने गरेकाे छ।
गत वर्ष पर्यटक समूह लिएर सोलुखुम्बुको खुम्जुङस्थित हिमालयन इको रिसोर्ट पुगेका एक गाइडले रिसोर्ट कर्मचारीलाई खानामा टेस्टिङ पाउडर मिसाइदिन आग्रह गरेका थिए। त्यसको उद्देश्य पर्यटकलाई झाडापखला लगाउने र हेलिकोप्टर उद्धार गराउने थियो। रिसोर्ट कर्मचारी अर्जुनले सो विषय रिसोर्ट सञ्चालक समक्ष रिपोर्टिङ गरे। रिसोर्टका सञ्चालक स्टेफन दावा शेर्पा भन्छन्, ‘सो घटनापछि हामीले त्यस्ता गतिविधि निरुत्साही गर्न सम्पूर्ण कर्मचारीलाई ओरिएन्टेसन गर्यौं।’
हेलिकाेप्टरबाट पर्यटकको उद्धार भए गाइडले अस्पताल तथा हेलिकाप्टर कम्पनीबाट कमिसन पाउँछन्। गाइड पेशाबाहेक याे उनीहरूकाे 'एक्स्ट्रा' अाम्दानी हाे। याे 'अाेपन सेक्रेट' हाे काठमाडाैंका अधिकांश ट्रेकिङ एजेन्सीले अाफ्ना गाइडलार्इ हेलिकाेप्टर उद्धारका लागि प्रेरित गर्ने गरेका छन्।
हेलिकोप्टरको अपत्यारिलो विस्तार
मेडिसिटी अस्पतालकाे छतमा सिम्रिक एयरकाे हेलिकाेप्टर। अस्पतालले हेलिकाेप्टर उद्धार सेवा बेच्ने गरेकाे छ।
मेडिसिटी अस्पतालकाे छतमा सिम्रिक एयरकाे हेलिकाेप्टर। अस्पतालले हेलिकाेप्टर उद्धार सेवा बेच्ने गरेकाे छ।
सन् २०१२ सम्म ठमेलमा सामान्य हैसियतमा रहेका राम सापकोटा अहिले करोडौं सम्पत्तिका मालिक हुन्। ट्रेकिङ व्यवसायको पृष्ठभूमिबाट उदाएका उनको लगानी होटल, हेलिकोप्टरदेखि हाइड्रोसम्म छ। सापकोटालाई नजिकबाट चिन्नेहरु भन्छन्, ‘उनको समृद्धिको रहस्य फेक रेस्क्युको ठगी धन्दा हो। ट्रेकिङ प्याकेज बेचेको भरमा यति छिटो यो प्रगति सम्भव छैन।’
सापकोटा त्यही ट्रेकिङ कम्पनीका मालिक हुन् जसले एक वर्षअघि अष्ट्रेलियाली नागरिक जेसिकासहित ६ जनालाई सगरमाथा आधार शिविरबाट जर्बजस्ती हेलिकोप्टर उद्धार गरेको थियो। नेपालखबरको सम्पर्कमा अाएका उनले अल्छी पर्यटकका कारण त्यस्ताे हेलिकाेप्टर उद्धार हुने गरेकाे दाबी गरे। 'फेक रेस्क्यु धन्दाको मुख्य खेलाडी म हाेइन। हिँड्न अल्छी गर्ने पर्यटकले पनि हेलिकाेप्टरमा फर्किन खाेज्छन्। त्यस्ता पर्यटकलार्इ हेलिकाेप्टरबाट उद्धार गर्नुपर्ने हुन्छ’, उनले भने।
पर्यटन क्षेत्रका जानकारहरुका अनुसार सापकोटा उदाएकै समय अर्थात् सन् २०१२ देखि नै नेपालमा फेक रेस्क्युसँगै हेलिकोप्टर सेवा अपत्यारिलो रुपमा वृद्धि भएको हो। यो खुला वास्तविकता हो ६ वर्षयता सगरमाथा क्षेत्रको आकाश हेलिकोप्टरको राजमार्ग नै बनेको छ। यहाँ राेचक पक्ष के छ भने हेलिकोप्टर सेवा प्रदायक कम्पनीहरुले अन्नपूर्ण क्षेत्रबाट फेक रेस्क्यु गर्दा आठ घन्टासम्म हेलिकोप्टर उडाएको बील बीमा कम्पनीलाई बुझाएका छन्।
पर्यटकको फेक रेस्क्यु ठगी प्रकरणमा झन्डै एक दर्जन हेलिकोप्टर कम्पनी जोडिएका छन्। ती मध्ये एउटा हो एल्टिच्युट एयर। यसका चार लगानीकर्तामध्ये सापकोटा एक जना हुन्। अरु तीन साझेदार पर्यटन उद्योगमा चर्चित नाम आङछिरिङ शेर्पा, फुर्बा ग्याल्जेन शेर्पा र निमा नुरु शेर्पा हुन्।
यो बाहेक माउन्टेन, श्री, समिट, सिम्रिक, हेली एभरेष्ट, प्रभु, मनाङ, एयर डाइनेष्टी, कैलाश हेलिकोप्टर फेक रेस्क्युका मुख्य खेलाडी हुन्। यी मध्ये अधिकांश सन् २०१२ यता खुलेका कम्पनी हुन्। फेक रेस्क्युमा मुछिएका यी कम्पनीविरुद्ध अहिले पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छावनीन गरिरहेको छ।
अस्पताल बेडको प्रतिरात डेढ लाखसम्म
पर्यटन क्षेत्रकाे याे कालाे धन्दालार्इ सेताे काेटधारी डाक्टरले समेत 'भेरिफाइड' गर्दै अाएका छन्।
काठमाडौंको कुनै अस्पतालले एक रात सुतेको बेड शुल्क १ लाख रुपैयाँ लिन्छ भन्दा पत्याउन गाह्रो पर्छ। तर वास्तविकता यो हो कि फेक रेस्क्युका 'बिरामी'सँग अस्पतालले रातको डेढ लाख रुपैयाँसम्म बेड शुल्क लिएका छन्। यस्ता बिरामीसँग अस्पतालले अाैषाधि र सेवाकाे शुल्क चलनचल्तीभन्दा ५ सय गुणासम्म महँगो उठाउने गरेकाे प्रमाण नेपालखबरलाई प्राप्त भएको छ। बीलमा धेरै पैसा देखाउन डाक्टरले पेशागत मर्यादाकाे सीमा नाघेर अनावश्यक औषधि एवं सेवा प्रयोगको झुटो विवरणमा ढुक्कसँग हस्ताक्षर गरिदिने गरेका हुन्।
सन् २०१२ स्वाकन अन्तर्राष्ट्रिय अस्पतालले फेक रेस्क्युका एक बिरामीलाई ५ दिन उपचार गरे बापत ३४ शीर्षकमा ८ लाख १४ हजार रुपैयाँ असुली गरेको थियो। बिलअनुसार पाँच दिनको बेड शुल्क १ लाख ४५ हजार रुपैयाँ असुलिएको छ। १५० रुपैयाँ पर्ने एउटा एक्स–रेको ५ हजार शुल्क असुलिएको बीलले देखाउँछ। (हेर्नुहोस् बील)
स्वाकन अस्पतालकाे एउटा बील जसमा ३४ शीर्षकमा पैसा असुलिएकाे छ
स्वाकन अस्पतालकाे एउटा बील जसमा ३४ शीर्षकमा पैसा असुलिएकाे छ
२०१८ जुन ३ मा इरा हेल्थ सेन्टरले फेक रेस्क्यु गरेका भारतीय पर्यटक रघु राम्पाबाट एक रातको उपचार खर्च ९० हजार रुपैयाँ असुलेको देखिन्छ। एक रात बस्दा १४ शीर्षकमा कूल ८ सय १७ अमेरिकी डलरको बील बनाइएको छ। काठमाडौंका बयोधा, ग्रान्डी, नर्भिक, मेडिसिटी, सिविक, इरा हेल्थ, स्वाकन यो धन्दाका साझेदार हुन्। पर्यटन मन्त्री रविन्द्र अधिकारीकाअनुसार यी अस्पतालमाथि छानवीन जारी छ।
वेलायतस्थित ट्राभलर एसिस्ट नामको कम्पनीले अन्तर्राष्ट्रिय बीमा कम्पनीहरुको तर्फबाट नेपालमा हुने मेडिकल उद्धारका घटनालाई मनिटरिङ गर्ने गर्छ। ट्राभलर एसिस्टका जोनाथन बान्क्रोफ्ट भन्छन्, ‘नेपालमा उद्धारका नाउँमा ठगीको र्‍योकट नै छ। यसले गर्दा सन् २०१७ मा नेपाल बीमा कम्पनीहरुका लागि सबैभन्दा महँगो सावित भएको छ।’ यो वर्ष अर्थात् २०१८ मा महँगोको अघिल्लो वर्षको रेकर्ड नेपालले तोड्ने उनको विश्वास छ।
नेपालका ट्रेकिङ कम्पनीहरूकाे फटाइँले वर्षाैंदेखि विदेशी मुद्रा अार्जन स्राेतकाे रूपमा रहेकाे हिमाली पर्यटन धरासायी हुने खतरा बढाएकाे छ। वेलायतका बीमा कम्पनीहरूले अहिले नेपालका लागि ट्राभल बीमा अस्वीकार गर्न थालेका छन्।
छानवीनपछि के हुन्छ?
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा उजुरी परेपछि जेठ २१ गते फेक रेस्क्यु प्रकरणको छानवीन गर्न सहसचिव घनश्याम उपाध्यायको संयोजकत्वमा एउटा कार्यदल गठन गर्‍यो। कार्यदलमा पर्यटन विभागका महानिर्देशक कोषनाथ अधिकारी, नेपाल प्रहरीका डिआइजी मनोज न्यौपाने, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपनिर्देशक सुभाष झा, पर्यटन मन्त्रालयका उपसचिव प्रकाश शर्मा ढकाल सदस्य छन्। कार्यदलले फर्जी उद्धारमा संलग्न कम्पनीहरु अल्पाइन रेस्क्यु, हिमालयन सोसल जर्नी, एस द हिमालय, नेपाल हाइकिङ टिम, युनिक एडभेन्चर, नेपाल इन्भारोमेन्टल ट्रेकिङ, नेपालभिजन ट्रेकिङ, हिमालय सिनरी, सेभेन समिट, फ्लाइट कनेक्सन, हिमालयन रेक्स्यु, ग्रेट हिमालय, इजीहेलीबाट तीन वर्षयता भएका पर्यटक उद्धारका विवरण अध्ययन गरिरहेको छ।
भिडयाे
पर्यटनमन्त्री अधिकारी स्वास्थ्य बीमामा व्यवसायीले गरेको फटाइँ गम्भीर देखिएको बताउँछन्। ‘प्रारम्भिक अनुसन्धानले यो प्रकरण गम्भीर देखिएको छ। काठमाडौंका नाम चलेको ५—६ अस्पताल संलग्न पाइएका छन्। दोषी पाइएका माथि हामी कारवाही गर्छौं’, मन्त्री अधिकारीले नेपालखबरसँग भने।
अहिलेसम्म हेलिकोप्टर सेवा प्रदायक वा ट्रेकिङ एजेन्सी कम्पनीले पर्यटक उद्धार गरेको तथ्यांक कुनै सरकारी निकायमा बुझाउनु पर्ने नियम छैन। पैसा तिरेपछि रत्नपार्कमा पाइने ट्याक्सीजस्तै हेलिकोप्टर जता पनि उड्न पाउँछन्। त्यसका लागि कतैबाट पूर्वअनुमति लिनु पर्दैन, उडेकाे रेकर्ड देखाउनु पनि पर्दैन। यही कारण हो छानवीन गरिरहेकाे पर्यटन मन्त्रालयले नागरिक उड्डयन प्राधिकरणमार्फत हेलिकोप्टर कम्पनीसँग २ दिनभित्र उद्धारको विवरण माग गर्दा त्यो उपलब्ध हुन सकेन।
हिमाली उद्धार लेकलाग्ने समस्यासँग सम्बन्धित विषय हो। उचाईमा जाँदा उच्च रक्तचाप र अक्सिजन अभावका कारण स्वास्थ्यमा समस्या देखिनसक्छ। रिंगटा लाग्ने, टाउको दुख्ने, खान मन नलाग्ने, बान्ता हुने हुन्छ। यसको उपचार भनेको उचार्इबाट तत्काल तल झर्नु हो। स्वास्थ्यमा आउने यही परिवर्तनमा त्रास फैलाएर पर्यटन व्यवसायीले हिमाली पर्यटन बद्नाम गराउनेगरी कालोधन्दा चलाइरहेका हुन्।

No comments:

Post a Comment

खुम्बु घुम्न आएका भारतीय पर्यटककाे ज्यान गयाे

खुम्बु घुम्न आएका भारतीय पर्यटककाे ज्यान गयाे    सोलुखुम्बु - सोलुखुम्बुको खुम्बुक्षेत्र घुम्न आएका भारतीय नागरिक रविकान्त मिश्...