खुम्बु क्षेत्र प्रवेश गर्न चट्टान फोरेर मार्ग निर्माण
सोनाम याङजी शेर्पा- सोलुखुम्बुको पर्यटकीय स्थल खुम्बु क्षेत्र प्रवेश गर्ने बाटो निर्माण अन्तिम चरणमा पुगेको छ । जोखिमपूर्ण र निर्माणको लागि आप्ठ्यारो बाटोको निर्माण कार्य अन्तिम चरणमा पुगेको हो । खुम्बु पासाङल्हामु गाउँपालिकाको पर्यटकीय पदमार्ग निर्माण गर्ने बहुबर्षिय योजना अन्तर्गत ३५ लाख विनियोजन गरी बाटो निर्माण शुरु गरेको थियो ।
खुम्बु पासाङल्हामु गाउ पालिका वडा नं ३ टोकटोक देखि बेङ्कार जाने यो बाटोमा पुरै चट्टानै चट्टाने भिरमा रहेको छ । भिरको बाटो भएकै कारण आवातजागत गर्न कठिन भइरहेको थियो । सोही बाटो आवातजावतको क्रममा पटकपटक मानवीय र पशुधनको समेत क्षति हुने गरेको दृष्टान्तलाई ध्यानमा राख्दै गाउँपालिकाले बाटो निर्माणका लागि बजेट विनियोजन गरी कार्य अघि बढाएको निर्माण समितिका अध्यक्ष नुरु जाङबु शेर्पाले जानकारी दिए । ‘आवातजातव गर्ने बटुवा, सामान ओसार्ने ज्योप्के र खच्चडहरू यही भीरको बाटोमा लडेर मरे ।’ अध्यक्ष शेर्पाले भने ‘त्यसैले आगामी दिनमा यस्तो अप्रिय घटना नघटोस् भन्ने हेतुले बाटो समयमै निर्माण गर्न गाउँपालिकाले अग्रसर भएको हो ।’
अन्य विकल्प नभएकाले हाल प्रयोग भइरहेको सानो बाटोलाई नै भिरको चट्टान फोरेर रड र सिमेन्ट प्रयोग गरि रेलिङ सहितको बाटो निर्माण गरेको गाउँपालिकाले जनाएको छ । बाटो निर्माणको कार्य ८५ प्रतिशत सकिएको र छिट्टै कार्य सम्पन्न गरी आवागतजावातमा सहज बनाउन आफूहरु लागि परेको अध्यक्ष शेर्पाले बताए ।
अन्य समय सोही बाटो हुँदै पर्यटकहरुको आवातजावात बढी हुने भएकाले अफ सिजनको मौका छोपेर बाटो निर्माण तिब्र रुपमा अघि बढेको र बाटो निर्माणसँगै पर्यटकको संख्यामा समेत वृद्धि हुने निर्माण कार्यक्रममा संलग्नहरुको भनाई छ ।

No comments:
Post a Comment