कहाँबाट आउँछ सुन, कहाँ जान्छ ?
भाद्र २०, २०७४- मुख्यत: अवैध बाटोबाट नेपाल भित्रिने सुन स्थलमार्ग हुँदै चीनबाट र हवाईमार्ग हुँदै मलेसिया तथा खाडी राष्ट्रबाट आउने गरेको छ । गत पुसमा विमानस्थलबाहिर बरामद साढे ३३ केजी सुन भने यूएईबाट ल्याइएको थियो ।
राष्ट्र बैंकले नेपाली बजारमा दैनिक औसत १५ केजी सुन माग रहेको भन्दै त्यति नै बेच्दै आएको छ । तर त्यसभन्दा ठूलो परिमाणमा बजारमा किनबेच हुने गरेको छ । जानकारहरूका अनुसार चीन र अन्य मुलुकबाट तस्करीमा एक केजी सुन भित्र्याउँदा पाँच लाख रुपैयाँसम्म फाइदा हुन्छ । अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार यसरी भित्रिएको सुन थोरै हिस्सा मुलुकभित्रकै सुन पसलमा खपत हुन्छ भने ठूलो मात्रा भारत पुग्छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौं भित्रिएको साढे ३३ केजी अवैध सुन प्रकरणमा पनि प्रहरीले काठमाडौंका वैभवलक्ष्मी गोल्ड प्यालेस, आरके ज्वेलर्स र शालीमार ज्वेलर्सले अवैध रूपमा भित्रिएको सुन खरिद गरेको आरोप लगाउँदै जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो । दुबईबाट अवैध भित्रिएको सुन काठमाडौंमा लिने आरोप लागेका रुविन भन्ने रामप्रताप खड्काले पसलहरूमा पुर्याउने गरेको अभियोग लगाइएको थियो । जिल्ला अदालतमा १० लाख धरौटी बुझाएर छुटेका खड्का काठमाडौं भित्रिएको तस्करीको सुन सम्हाल्ने रामहरि कार्कीका नजिकका मानिन्छन् ।
त्यस्तै, १५ गते काठमाडौं र जनकपुरबाट बरामद १५ केजी सुन तस्करी घटनामा चीनबाट भित्रिएको सुनको एक हिस्सा भारत पुगेको तथ्य सार्वजनिक भएको थियो । चीनबाट काठमाडौं आएको २१ केजी सुनमध्ये दुई केजी भारत पुर्याएर बेचिसकिएको र एक केजी भारत लैजाँदै गर्दा जनकपुरबाट बरामद भएको थियो । उक्त मुद्दामाथि अनुसन्धान गरिरहेका डीआईजी पुष्कर कार्कीका अनुसार यो समूहले जनकपुर बस्ने दीपककुमार शाहलाई भारतीय बजारसम्म पुर्याउने जिम्मा दिएको देखिन्छ ।

No comments:
Post a Comment