Wednesday, September 13, 2017

दरबारमार्गका ठग व्यवसायीहरु राजनीतिक ‘लबिङ’मा,कालोबजारीयाहरुको घेरामा अर्थमन्त्री कार्की


दरबारमार्गका ठग व्यवसायीहरु राजनीतिक ‘लबिङ’मा,कालोबजारीयाहरुको घेरामा अर्थमन्त्री कार्की




काठमाडौं,  । काठमाडौंको दरबारमार्गमा दशैं तिहारमा छुट दिने बहानामा उपभोक्तालाई ठगी गरेर सामान बिक्री गरेको पाइएपछि गत सोमबार अर्थात् यही भदौ १९ गते आपूर्तिमन्त्री शिवकुमार मण्डल नेतृत्वमा आपूर्ति मन्त्रालय र आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक कुमार दाहालसहितको टोलीले वेन्टली, पुमा, नाइक र स्टोर वानमा छापा मारेर पसल ‘सिल’ ग¥यो । अनुगमनमा गएको टोलीलाई सामान खरिदको बिल देखाउन नसकेपछि ‘सिल’ गरिएको हो । उनीहरुलाई प्रमाणसहित उपस्थित हुन निर्देशन दिइएको छ ।
त्यसपछि विभागले बुधबार राडोलगायतका घडी बिक्री गर्ने सुलक्स सेन्टर र वाचएन्डसीलगायतका केही पसलमा छापा मारेर ‘सिल’ गरेको छ । बुधबार नै अनुगमन टोलीले रिबुक ब्रान्डको सामान बिक्री गर्ने लेबल्स स्टोर, बोसिनी ब्रान्डको सामान बिक्री गर्ने लाइन्स स्टाइल इन्टरप्राइजेजलगायतका पसलमा छापा मारेर ‘सिल’ गरेको छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले छापा मारेर कैफियत देखिनासाथ ‘सिल’ गर्नथालेपछि बुधबार धेरै पसल धनीहरुले ४ बजे नै दरबारमार्गका पसलहरु धमाधम बन्द गरे । उनीहरुले सरकारी टोलीलाई सहयोग गर्नुको सट्टा उपभोक्ता ठग्न पाइन्न भनेर पसल बन्द गरेर विरोध गर्न थाल्नाले दरबारमार्ग व्यापारको नाममा ठगहरुको अखडा रहेको पुष्टि गरेको छ ।
कानुनअनुसार कुनै पनि सामान बिक्रीमा २० प्रतिशतभन्दा बढी नाफा राख्न पाइँदैन । त्यही भएर सरकारी टोलीले बिक्री र खरिदको अन्तर पत्ता लगाउन व्यवसायीहरुसँग खरिद गरेको बिल मागेका हुन् । उनीहरुले बिल देखाउन आनाकानी गरिरहेका छन् । खरिदको बिल नदेखाएपछि ‘सिल’ गर्नुको अर्को विकल्प सरकारी कर्मचारीहरुसँग छैन । खरिद र बिक्रीको अहिलेको अवस्था हेर्दा व्यवसायीहरुले एक हजार प्रतिशतसम्म नाफा लिएका छन् । यसले कर पनि छली भएको छ भने उपभोक्ता पनि ठगिएका छन् ।
व्यवसायका नाममा ठगी गर्दै आएकाहरुले अहिले आफ्नो ठगी व्यवसायलाई जोगाइदिन राजनीतिक ‘लबिङ’ गर्दै अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसमक्ष पुगेका छन् । ठगी र कालोबजारी गर्नेहरुले करको कुरा र व्यवसायीमैत्री सरकार नभएको जिकिर गरेका छन् । तर, दरबारमार्गका अधिकांश व्यवसायीहरुले भन्सारदेखि भ्याट र आयकरसम्म सरकारलाई छली गरेका छन् ।
एडिडासको सामानको विभिन्न छवटा बिक्री केन्द्रतर्फ राजधानीमा व्यवसाय गरिरहेका रुट्स फेसनका प्रबन्धनिर्देशक सन्जिव तुलाधरले त करचुक्ता प्रमाणपत्र नै नक्कली प्रयोग गर्ने गरेको समाचार आर्थिक दैनिकले अघिल्लो वर्ष नै प्रमाणसहित प्रकाशित गरेको थियो । तुलाधरको पसल, उनीबाट सामान लगेर बिक्री गर्नेहरु र उनको गोदाममा राजस्व अनुसन्धान विभागले छापा मारेको थियो । छापा मारेको समाचार आर्थिक दैनिकमा आएपछि उनी र उनका आफन्तहरुले धम्कीसमेत दिने काम गरेका थिए ।
अहिले एडिडास र रिबोक ब्रान्डका ब्रान्डका सामान बिक्री गर्ने पसलहरु पनि ठगी र कालोबजारी संलग्न भएको देखिएपछि सञ्जिव तुलाधार र उनको समूह राजनीतिक ‘लबिङ’मा छन् । त्यो ‘लबिङ’मा कांग्रेसको नाममा चन्दा उठाएर व्यवसाय गर्नेहरुसमेत संलग्न छन् । सिङ्गापुरबाट आयात गरेको भनेर तुलाधरले चीनबाट आयात गरेर एडिडासको जुत्ता बिक्री गर्दै आएका छन् । चीनमा एडिडासको आफ्नै प्लान्ट छैन । एडिडासको गुणस्तरजस्तो जुत्ता उत्पादन गर्न चीनको स्थानीय कम्पनीलाई लगाइएको कारण त्यहाँको एडिडासको जुत्ता गुणस्तरीय छैन ।
दरबारमार्गका ठग व्यवसायीहरुले भाडा महंगो भएको, बिजुलीको महसुल धेरै उठ्ने गरेको जस्ता कारण देखाएर महंगोमा सामान बिक्री गर्नुपरेको तर्क गरेका छन् । ठग व्यवसायीहरुले पसलको सजावट, बिजुली, बैंकको ब्याज, सञ्चालन खर्च, पानी र भाडाको पैसा उपभोक्ताबाट उठाउने उद्देश्य लिएको सरकारी अधिकारीहरुसँगको बयानमा बताएपछि उनीहरु ठग नै भएको पुष्टि भएको छ । उनीहरुको दैनिक खर्च उभोक्तासँग असुल गर्न पाइँदैन । सामान खरिद गरेर ल्याएको मूल्यको नाफा २० प्रतिशत मात्र उनीहरुले बिक्रीबाट असुल गर्न पाउँछन् । २० प्रतिशतभन्दा बढी असुल गर्नु ठगी धन्दा हो ।
यस्ता ठगी धन्दा गर्नेहरु अहिले नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्सजस्ता निजी क्षेत्रका व्यवसायीहरुको संस्थामार्फत सरकारलाई दबाब दिइरहेका छन् । ती ठग व्यवसायीहरुले आपूर्तिमन्त्री माओवादी भएको र छापामार शैलीमा कारबाही गरेको भनेर राजनीतिका लाभ लिने कोसिसमा छन् । अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले पनि के ख्याल गर्नुपर्छ भने दरबारमार्गका व्यापारीबाट उपभोक्ता मात्र होइन राज्य पनि ठगिएको छ । उनीहरुले करछली गर्दै आएका छन् । अहिलेको खरिद र बिक्रीको अन्तरले पनि कर कति छली भएको छ भन्ने पुष्टि गरेको छ ।
ठगी र कालोबजारी गर्ने व्यवसायीको संस्था छ दरबारमार्ग विकास बोर्ड । त्यसका अध्यक्ष छन्, श्री गुरुङ । दशैंको बेला महंगोमा बिक्री गरेर ठग्न सुरु गर्नासाथ मन्त्री नै गएर छापा मारेपछि गुरुङलगायता सबै व्यवसायीहरु तिल्मिलाएका छन् । ठग व्यापारीहरुले बिल देखाउन नसक्नुको कारण भनेको भन्सारमा गर्ने न्यून बीजकीकरण पनि हो । महंगोमा ल्याए पनि उनीहरुले भन्सारका कर्मचारीलाई घुस दिएर न्यून बीजकीकरण गर्ने गरेका छन् । त्यसैले व्यापारीहरु आफैंले बनाएका जालमा आफैं परेका हुन् । तर, उनीहरुले ल्याएको भन्दा सयौं गुणा महंगोमा बिक्री गर्ने गरेका छन् ।
दरबारमार्गका ठग व्यवसायीहरुको पक्षमा नेपाल चेम्बर अफ कमर्सका कार्यवाहक महासचिव निलकण्ठ चौलागाईँको नाममा बिहीबार विज्ञप्तिसमेत प्रकाशित भएको छ । चौलागार्इँले विज्ञप्तिमा केहीदेखि बजार अनुगमनका क्रममा व्यापार व्यवसाय कारोबारस्थल सिलबन्दी गरी बजारमा असहज स्थिति सृजना भएबाट नेपाल चेम्बर अफ कमर्सको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । उनले कालोबजारी ऐनलाई चुनौती दिँदै सिलबन्दी गर्नुलाई दुःखद भनेका छन् । तर, कालोबजारी ऐनअनुसार ठगहरुको व्यवसायलाई सिलबन्दी गर्नेसम्म उल्लेख गरिएको छ ।
कांग्रेसको नाममा ठगी गर्नेहरुले ‘लबिङ’ गरेका कारण नेपाली कांग्रेसकै नेतासमेत रहेका अर्थमन्त्री कार्की दरबारमार्गका ठग व्यवसायीप्रति केही उदार देखिन्छन् । यदि अर्थमन्त्री कार्कीले दरबारमार्गका ठग व्यवसायीहरुमाथि थालिएको कारबाही रोक्ने प्रयास गरे भने उनको छविमाथि नै प्रश्न उठ्नेछ । कार्कीलाई अहिलेसम्म भ्रष्टाचार र ठगहरुलाई पक्षपोषण गरेको आरोप लाग्नसकेको छैन , आर्थिक दैनिकमा उल्लेख छ ।
दरबारमार्गका ठग व्यवसायीहरुलाई आपूर्ति मन्त्रालय र मातहतको निकायले नै कारबाही थालेको कारण उसैलाई कानुनअनुसार कारबाही गर्न दिनुपर्छ ।

No comments:

Post a Comment

खुम्बु घुम्न आएका भारतीय पर्यटककाे ज्यान गयाे

खुम्बु घुम्न आएका भारतीय पर्यटककाे ज्यान गयाे    सोलुखुम्बु - सोलुखुम्बुको खुम्बुक्षेत्र घुम्न आएका भारतीय नागरिक रविकान्त मिश्...